भीम विराग प्रतिष्ठानले विभिन्न क्षेत्रका ११ जनालाई सम्मान तथा पुरस्कृत गर्ने
१८ वैशाख, हेटौँडा । भीम विराग सङ्गीत, साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले विभिन्न क्षेत्रका ११ जना सर्जक, श्रष्ठा एवम् क्रियाशिल व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ ।
बैशाख २२ गते हेटौंडामा हुने विशेष सांगितिक तथा सम्मान कार्यक्रमको आयोजना गरि ११ जना हस्तीहरुलाई सम्मान गर्न लागिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यस वर्ष हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा चारवटा फरक विधामा लामो समयदेखि निरन्तर क्रियाशिल सर्जक–स्रष्टालाई पुरस्कार सर्मपण गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिनुभयो ।
भीम विराग राष्ट्रिय साहित्य पुरस्कार २०८०, सुनसरीकी कुन्ता शर्मालाई प्रदान गरिने भएको छ । भीम विराग राष्ट्रिय संगीत पुरस्कार २०८०,मकवानपुरका लाल श्रेष्ठलाई दिने निर्णय भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । त्यसैगरी भीम विराग राष्ट्रिय कला पुरस्कार २०८०, मकवानपुरकै बि.एस रानाले पाउनुहुने भएको छ । त्यस्तै, भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार २०८०, मार्फत् ललितपुरका पत्रकार जयदेव भट्टराईलाई सम्मानित गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । यी सबै पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ रहेको छ ।
त्यसैगरी १५ हजार रुपैयाँ राशीको तुलसीमाया–शिवकुमारी सिर्जनशील नारी पुरस्कार २०८० मकवानपुरकी साहित्यकार मञ्जु खराललाई प्रदान गरिने भएको छ । विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार २०८० गायिका पम्फा थापा मगरलाई प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । यो पुरस्कारको राशी २० हजार रहेको छ । त्यस्तै, जनही १५ हजार रुपैयाँ राशीको शिला नारी पुरस्कारबाट निरु मगर र चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कारबाट आर.आर चौलागाई सम्मानित हुने भएका छन् ।
यस्तै, मंगलादेवी स्मृति स्वास्थ्य पुरस्कारबाट स्वास्थ्यकर्मी सिमा मिश्र र अजित सेन गुप्ता भिन्न क्षमता पुरस्कार बाराकी दृष्टिविहीन शिक्षक अन्जु धिताललाई प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । यो पुरस्कार जनही १० हजार रुपैयाँ राशीको रहेको छ । ७ हजार पाँच सय नगद राशीको भीम–मथुरा बाल प्रतिभा पुरस्कार मकवानपुरका ईशान्त कुमार मिश्रले पाउनुहुनेछ ।














