भूगर्भीय तरलीकरणका कारण गाडी भासिएको प्रारम्भिक निष्कर्ष

संवाददाता
२४ बैशाख २०८२, बुधबार १७:४२

२४ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिका–१६ मा जमिन भासिएर हराएको गाडीको खोजीमा संलग्न भूगर्भविद्को टोली प्रारम्भिक अनुसन्धानपछि फर्किएको छ ।
घटनास्थलमा भूगर्भीय जोखिम रहेकाले तत्काल थप अध्ययन गर्न नसकिएको टोलीले जनाएको छ । घटनास्थलको जमिन र त्यसवरपर अत्यधिक कमजोरी देखिएकाले थप अध्ययन तत्काल सम्भव नभएको भूगर्वविद् कृष्ण पाण्डेले बताउनुभयो । उहाँका अनुसार, जोखिमयुक्त क्षेत्र पहिचानका लागि घटनास्थलका १० स्थान सहित वरपरका ७ स्थानबाट नमूना संकलन गरिएको छ । त्यसबाट आएको नतिजा अनुसार मात्रै दोस्रो चरणको अनुसन्धान थालिने उहाँले बताउनुभयो । दुई दिनसम्म अप्रत्यक्ष प्रविधिको प्रयोग गरेर अध्ययन गर्दा भूगर्भीय तरलीकरणका कारण गाडी भासिएको बताइएको छ ।
जमिनमाथि माटो देखिएतापनि सतहमुनि फाइन स्यान्ड(मसिनो बालुवा) र दलदल परेको माटो रहेको भूगर्भविद् नारायण अधिकारीले बताउनुभयो । यस्तो अवस्थामा जमिन कम्पन वा धक्काको कारणले तरल जस्तो बन्ने हुँदा जमिनको सतहले भार सहन नसकी तौल धेरै भएका वस्तुहरू भासिने गर्दछन् ।
म्याग्नेटोमिटरको प्रयोगका आधारमा गाडी ६ मिटर गहिराइमा पुरिएको अनुमान गरिएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै हेटौंडा उपमहामनगरपालिकाले वरपर ५० मिटर क्षेत्रलाई सिल गर्नुका साथै सावधानी अपनाउन आग्रह गरेको छ । गतशुक्रबार साँझदेखि ना४ च ४८३३ नम्बरको डिआई पिकअप गाडी गाडी कच्चि सडकमा गुड्दा गुड्दै माटो भासिएर हराएको थियो । चालक र सहचालक भने समयमै गाडीबाट निस्किन सफल भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*