भ्रष्टचारीलाई राजनीतिक दलको आँखाले हेर्नु हुँदैनः उपसभापति गुरुङ

संवाददाता
१० जेष्ठ २०८१, बिहीबार १७:२२

१० जेठ, हेटौँडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भ्रष्टचारीको कुनै जात र धर्म नहुने बताउनुभएको छ ।
भ्रष्टचारको काण्डमा मुछिएकाहरुलाई राजनीतिक दलको आँखाले हेर्न नहुने उहाँको भनाई छ । प्रजातान्त्रिक विचार समाज मकवानपुरको आयोजनामा भएको स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा बोल्नुहुँदै उपसभापति गुरुङले राजनीतिक दल नहेरी भ्रष्टचारको काण्डसंग जोडिएका जुनसुकै व्यक्तिलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । उहाँले कांग्रेस सुशासन र भ्रष्टचारविरुद्धको मिसनमा रहेको उल्लेख गर्नुभयो ।
उपसभापति गुरुङले वडा अध्यक्षदेखि प्रधानमन्त्री सम्मको सम्पत्ति छानबीनको लागि संसद्मा प्रस्ताव दर्ता गराएको समेत बताउनुभयो । देशमा भ्रष्टचारीहरु रहेसम्म देश बन्न नसक्ने उहाँको भनाई छ ।


यसैगरी उपसभापति गुरुङले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेतर्फ संकेत गर्दै गणतन्त्रमा कसैलाई भगवान मान्न नसक्ने बताउनुभयो । दुई–दुई वटा नागरिकता, पासपोर्ट राख्ने र सहकारी मार्फत जनतालाई ठग्नेहरु नेता नहुने उहाँको भनाई छ ।
कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । समाजका अध्यक्ष डा. देवचन्द्र मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस पूर्व जिल्ला सभापति रघुरमण न्यौपाने, हेटौँडा उपमहानगरका पुर्व सभापति आनन्दराम पराजुली, लगायतले आफ्नो विचार राख्नुभएको थियो ।

सोही अवसरमा चारजनालाई सम्मान गरिएको थियो । प्रजातान्त्रिक सेनानीबाट अशोक श्रेष्ठ, यादवराज पराजुली, परमेश्वर भ्लोन, हरिनन्द खरेल र स्वर्गीय ईश्वरचन्द्र अग्रवाललाई मरनोपरान्त सम्मान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*