मकवानपुरका २१ वटा सरकारी कार्यालयहरुको भवनमा क्षति
९ असोज, हेटौँडा । गत भदौ २३ र २४ युवा पुस्ता जेनजीको प्रदर्शनका कारण मकवानपुरका २१ वटा सरकारी कार्यालयहरुको भवनमा क्षति पुगेको प्रारम्भिक तथ्यांक छ ।
१३ वटा संघीय कार्यालय, प्रदेश स्तरीय कार्यालय ६ र सार्वजनिक संस्थान २ वटामा क्षति पुगेको छ । १२ करोड ४२ लाख ४६ हजार भौतिक क्षति भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । यस्तै २५ वटा सरकारी कार्यालयका एक सय ४३ वटा सवारी साधनमा क्षति पुगेको छ । एकसय ११ वटा दुई पाङ्ग्रे र ३२ वटा चार पांग्रे सवारी साधनतर्फ ४ करोड ९० लाख २६ हजार रुपैयाँ क्षतिभएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताउनुभयो ।
यस्तै मकवानपुरका १० वटा स्थानीय तह मध्य कैलाश र बागमती बाहेकका सबै पालिका प्रभावित बनेका छन् । क्षति भएका संरचना पुर्ननिर्माण गरी प्राथमिकताका आधारमा सरकारी कार्यालयहरु सञ्चालनमा ल्याउन निजी क्षेत्रले सामाजिक उत्तरदायित्व वहन अन्तर्गत सहयोग गर्न प्रमुख जिल्ला अधिकारी श्रेष्ठले उद्योगी व्यापारीहरुलाई आग्रह गर्नुभयो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आयोजित छलफलमा मकवानपुर उद्योग वाणिज्य संघ, उद्योग संघ, नारायणी यातायात ब्यवसायी संघ लगायत बहुर्राष्ट्रिय सहित औद्योगिक क्षेत्रका उद्योगीहरुको सहभागीता रहेको थियो । हेटौँडामा रहेको युनिलिभर लिमिटेड बैठकमा अनुपस्थित रहेको भन्दै सहभागीहरुले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण समेत गराएका थिए ।














