मकवानपुरका २२ सरकारी कार्यालयमा सतर्कता केन्द्रको अनुगमन
३० चैत्र, हेटौँडा । मकवानपुर जिल्लाका अधिकांश सरकारी कार्यालयमा स्तनपान कक्ष नभएको पाइएको छ ।
राष्ट्रिय सर्तकता केन्द्रले २२ वटा सरकारी कार्यालयमा गरेको अनुगमनका क्रममा १९ वटा कार्यालयमा स्तनपान कक्ष नभएको पाइएको हो । सोमबार आयोजित सदाचार शिक्षा तथा सचेतनामूलक कार्यक्रममा केन्द्रकी उपसचिव शारदा चालिसेले अनुगमनबाट देखिएको वस्तुस्थिति प्रस्तुत गर्दै ३ वटा कार्यालयमा मात्रै स्तनपान कक्ष रहको जानकारी दिनुभयो । यस्तै नागरिक वडापत्र १६ कार्यालयमा राखिएको छ भने उजुरी पेटिका १९ कार्यालयमा राखिएको पाइएको छ । १९ वटा कार्यालयमा सूचना पाटी राखिएको छ । हेल्प डेस्क १३ कार्यालयमा मात्र रहेको पाइएको छ । खानेपानीको व्यवस्था भने २१ कार्यालयमा उपलब्ध छ भने महिला–पुरुष शौचालय १९ कार्यालयमा रहेको छ । सरसफाइको अवस्था सन्तोषजनक पाइएको छ ।
सबै २२ वटै कार्यालयमा स्वचालित विवरण (अटोमेटिक डिस्क्लोजर) प्रणाली कार्यान्वयनमा रहेको पाइनुका साथै सबै कार्यालय बिचौलियामुक्त रहेको पनि केन्द्रले जनाएको छ । कर्मचारी व्यवस्थापन तर्फ कुल दरबन्दी ९ सय २९ रहेकामा ७ सय २१ कार्यरत रहेका छन् । अनुगमनका क्रममा ६४ जना कर्मचारी समयपालन नगर्ने र ५४ जना तोकिएको पोशाक नलगाउने भेटिएका छन् । सिट छड्के अनुगमन गर्दा प्रमुखको अनुमति लिएर फिल्डमा गएका बाहेक अधिकांश कर्मचारी उपस्थित रहेको जानकारी दिइएको छ । सबै कार्यालय अनुगमनको दैनिक विवरण केन्द्रमा पठाइएको र सोही आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिवेदन गरिनेछ । अनियमितता देखिएमा कारबाही प्रक्रिया केन्द्रबाटै अघि बढाइने जनाइएको छ ।
सर्वेक्षणका क्रममा सहभागी तथा सेवाग्राहीहरूले कर्मचारी समयमै नियमित उपस्थित हुनुपर्ने, सेवाग्राहीका लागि फोटोकोपी, खानेपानी, शौचालय तथा प्रतिक्षालयको उचित व्यवस्था गर्नुपर्ने, ढिलासुस्ती व्यवहारमा सुधार ल्याउनुपर्ने, कर्मचारी नम्र हुनुपर्ने तथा चिनेजानेकाको काम छिटो गर्ने र अन्यको ढिलो गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने सुझाव दिएका छन् । केन्द्रले बाल सुधार गृहको समेत अनुगमन गरेको छ ।
३० जनाको क्षमता रहेको उक्त गृहमा ९२ जना राखिएको पाइएको छ, जुन क्षमताभन्दा दुई सय प्रतिशत भन्दा बढी हो । त्यहाँ आपतकालीन सवारी साधनको अभाव, स्थान अभाव तथा सरसफाइसम्बन्धी समस्या रहेको पनि औंल्याइएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अध्यक्षतमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख ललित घलान, बागमती प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारी, पालिकाका प्रतिनिधि, जिल्लास्थित कार्यालयका प्रमुख लगायतको उपस्थिती थियो ।














