माँ अन्जनी किराना पसलमा आयातित रहरको दालमा शंकास्पद वस्तु फेला
७ असोज, हेटौँडा । हेटौंडा उपमहानगरपालिका–५ स्थित माँ अन्जनी किराना पसलमा आयातित रहरको दालमा शंकास्पद वस्तु फेला परेपछि उक्त दालको बजार बिक्री वितरण तत्काल रोक लगाइएको छ ।
चाडबाड लक्षित संयुक्त बजार अनुगमनका क्रममा दालका बोरा भित्र कपडामा बेरिएर राखिएको सानो पोको भेटिएको हो । वीरगन्जस्थित ऊँ ट्रेडिङबाट प्याकिङ भएर आएको २५ केजीको रहरको दालको बोराभित्र कपडाले बाँधिएको अवस्थामा केही केमिकलजस्तो देखिने वस्तु फेला परेको तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ । १८ बोरा मध्ये सिलप्याक गरिएका दुईवटा बोरा खोली हेर्दा शंकास्पद वस्तु फेला परेको हो । कुल ३० बोरा दाल ल्याइएकोमा १२ बोरा बिक्री भइसकेको पसल सञ्चालकले बताएका छन् ।

खोलिएका दुई बोरा सहित बाँकी सबै दाल सिल गरिएको छ । दालमा भेटिएको उक्त पोको बिषादी भएको आशंका गरिएको छ । उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले दालको बिक्री रोक्न निर्देशन दिइएको छ । कार्यालयका खाद्य अधिकृत पंकज दाहालले टालोमा बाँधेर राखिएको अवस्थाको सानो पोको ठ्याक्कै के हो भन्ने विषयमा जाँच गर्नुपर्ने बताउनुभयो ।
कार्यालयले तीन दिनभित्र दालको खरीद बिल पेश गर्न समेत निर्देशन दिएको छ । यसैबीच, मंगलबार हेटौंडाका विभिन्न स्थानमा बजार अनुगमन गरिएको थियो ।

कान्तिलोकपथ, भैरवरोड क्षेत्रका किराना पसल, डेरी र मिठाई पसल गरि ८ वटामा अनुगमन गरिएको हो । अनुगमनका क्रममा बालाजी ट्रेड लिंकबाट म्याद नाघेको ग्लुकोज, दालमोठ, सुजीको पिठो लगायतका सामग्री बरामद गरी नष्ट गरिएको छ । त्यस्तै, शुभम किराना एण्ड कोल्ड स्टोरबाट नमकिन र गरम मसला बरामद गरी नष्ट गरिएको छ भने मुक्तिनाथ डेरीलाई तीन दिनभित्र कारोबार अनुसार व्यवसाय दर्ता गर्न निर्देशन दिइएको खाद्य अधिकृत दाहालले बताउनुभयो ।














