मानवसेवा आश्रमद्वारा सार्थक साझेदारी अभियान सुरु

संवाददाता
२६ भाद्र २०८१, बुधबार १६:२२

२६ भाद्र, हेटौँडा । सहयोगापेक्षी सडक आश्रित मानवमुक्त जिल्ला पूर्ण कार्यान्वयनका लागि मानवसेवा आश्रमले सार्थक साझेदारी अभियान सुरु गरेको छ ।
पहिलो सहयोगापेक्षी सडक आश्रित मानवमुक्त जिल्लाका रुपमा रहेको मकवानपुरबाट अभियानको थालनी गरिएको हो । आश्रमको मुख्य कार्यालय हेटौँडा –९ लामसुरेमा स्थानीय जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, समाजसेवी, सरोकारवाला निकाय लगायतको उपस्थितीमा अन्तरक्रिया कार्यक्रमको गर्दै अभियानको सुरु गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख ललित घलानले मानव सेवा आश्रमले मानवीयताका सवालमा खेलेको भूमिकाको प्रसंशा गर्नुभयो । सरकारले चालू आर्थिक वर्षको स्वीकृत नीति तथा कार्यक्रममा नै २०८२ सालमा नेपाललाई सडक मानवमुक्त बनाइने संकल्प लिएकाले यो राष्ट्रिय मुद्धा बनिसकेको उहाँको भनाई छ । उक्त संकल्पलाई साकार पार्न सबैको साथ र सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।


कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरपालिका प्रमुख प्रसाशकिय अधिकृत सुर्यप्रसाद गौतमले संघ र प्रदेशबाट स्थानीय तहलाई आउने रकम घट्दो क्रममा रहेपनि मानव सेवाका क्षेत्रमा उपमहानगरको गर्ने लगानी निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो ।
मकवानपुर जिल्लाबाट सुरु भएको अभियान देशका ७७ वटै जिल्लामा सञ्चालन गरिने मानवसेवा आश्रमका प्रमुख रामजी अधिकारीले बताउनुभयो । नेपाललाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने संकल्पलाई सार्थक बनाउन अभियान प्रभावकारी बन्नेमा उहाँको विश्वास थियो । २०७५ सालमा मकवानपुर जिल्लालाई नेपालकै पहिलो सहयोगापेक्षी सडक आश्रित मानवमुक्त जिल्ला घोषणा गरिएको स्मरण गराउँदै प्रमुख अधिकारीले मकवानपुरका स्थानीय तहबाट अपेक्षाकृत सहयोग भने पाउन नसकेको गुनासो गर्नुभयो ।


१९ जिल्लामा सञ्चालन भैरहेको मानव सेवा आश्रमका २५ स्थानमा सेवा केन्द्र रहेका छन् । हाल १ हजार ७ सय २३ जनाले आश्रय लिईरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*