मिडियाले समाचार सम्प्रेषणमा विभेद गर्ने गरेको महिला सांसद्हरुको गुनासो

संवाददाता
२० चैत्र २०८१, बिहीबार १७:१८

२१ चैत्र, हेटौँडा । बागमती प्रदेशका महिला सांसदहरुले सदनमा उठाएका विषयले मिडियामा कम प्राथमिकता पाउने गरेको गुनासो गरेका छन् ।
बिहिबार हेटौँडामा आयोजित महिला सासंद र पत्रकारबिचको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने महिला सांसदले मिडियाले नै समाचार सम्प्रेषणमा विभेद गर्ने गरेको आरोप लगाएका छन् ।
पुरुष सासंदले उठाएका विषयलाई मात्र बढी प्राथमिकता दिने तर, रोष्टममा नै उभिएर महिला सासंदहरुले बोलेका विषयहरु मिडियाको प्राथमिकता नपर्ने गरेको उनीहरुको गुनासो छ । बागमती प्रदेश सभा सदस्य भारती पाठकले संसदमा राजनीतिक क्षेत्रमा पहुँच भएका र बढी चर्चामा आएका पुरुष सासंदहरुको कुरालाई मात्र प्राथमिकता दिने प्रवृतीले महिला सासंदहरुले उठाएका महत्वपूर्ण एजेन्डाहरु समेत ओझेलमा पर्ने गरेको बताउनुभयो ।
मिडियाको ध्यान पनि चर्चित पुरुष नेताहरुमै केन्द्रित हुनु दुखद रहेको बताउँदै सञ्चारमाध्यमका सूचना, समाचार समावेशी हुनुपर्नेमा उहाँले जोड दिनुभयो । त्यसैगरी अर्का सांसद् रुकु चौंलागाईले समानु्पातिक सांसदका एजेन्डालाई सम्बोधन नै नगर्ने परिपाटी प्रति असन्तुष्टि जनाउनुभयो । नीति निर्माणमा प्रभावकारी भूमिका खेल्न सक्ने क्षमता भएका महिला सांसदको आवाजलाई सञ्चार माध्यमले नसमेट्दा भूमिका कमजोर देखिने गरेको महिला सांसदले जिकिर गरेका छन् ।
बागमती प्रदेश सभामा १ सय १० जना सदस्य रहेकामा ४० जना महिला सांसद रहेका छन् । जसमा प्रत्यक्ष निर्वाचित ५ जना र समानुपातिकमा ३५ जना छन् । जसमा दुईजना सचेतक, एकजना विषयगत समिति सभापति, एकजना उपसभामुख र दुईजना मन्त्रीको जिम्मेवारीमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*