मुख्यमन्त्री बानियाँले श्रावण २७ गते विश्वासको मत लिने
२३ श्रावण, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिन लाग्नुभएको छ ।
श्रावण २० गते प्रदेशको छेठौं मुख्यमन्त्रीको रूपमा नियुक्त हुनुभएका बानियाँले श्रावण २७ गते मंगलबार नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिन लाग्नुभएको हो ।
उहाँले बागमती प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेश गर्नु भएकोले सभामुख भुवनकुमार पाठकबाट २७ गते दिउँसो ४ बजे प्रदेशसभा बैठक आह्वान भएको प्रदेशसभा सचिवालयका सभा सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ । १४ मन्त्रालय रहेको बागमती प्रदेशमा ६ मन्त्रालयको जिम्मा मुख्यमन्त्री बानियाँको काँधमा कायमै रहेको छ । सरकारलाई पूर्णता दिनु पूर्व नै उहाँ विश्वासको मत लिने तयारीमा जुट्नु भएको हो ।














