राक्सिराङ गाउँपालिकाले चेपाङ संग्राहलय निर्माण गर्दै

संवाददाता
२१ चैत्र २०८१, शुक्रबार १८:०४

२२ चैत्र, हेटौँडा । सीमान्तकृत चेपाङ समुदायको संस्कृति, परम्परा संरक्षण, संवद्धन एवम् प्रचारप्रसार गर्ने उद्देश्यले मकवानपुरको राक्सिराङ गाउँपालिकाले संग्राहलय निर्माण गरिरहेको छ ।
चेपाङ समुदायको पहिचानसँग जोडिएको भेषभुषा, चेपाङले प्रयोग गर्ने परम्परागत सामग्री र मौलिक खाद्यवस्तु संरक्षण गर्ने उद्देश्यले ३ करोड ६३ लाख रुपैयाँको लागतमा चेपाङ संग्रहालय निर्माण गरिएको हो । राक्सिराङ गाउँपालिकाले वडा नम्बर ५ चैनपुरमा भवन निर्माण गरिएको तीनतले संग्रहालय भवनको निर्माण कार्य सकिएर विद्युतीकरण र रंगरोगन कार्य बाँकी रहेको पालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।
उक्त संग्रहालयमा चेपाङ समुदायले जन्म देखि मृत्यु संस्कारसम्म प्रयोग गर्ने सामग्रीहरु राखिनेछ । एकपाखे ढ्याग्रो, माछा, चमेरो मार्ने जाल, चिउरी पेल्ने काठको औजार, ठेकी, थुन्से, गुलेली, खोरिया खन्दा प्रयोग गरिने कुटोकोदालो, हलो, सिकार खेल्दा प्रयोग गर्ने हात हतियार, चिउरीको घिउ राख्ने भाँडो लगायत चेपाङ जीवनशैली र पहिचानसँग जोडिएका सामग्रीहरू अध्ययन अवलोकनका लागि संग्रहित गरिने पालिका अध्यक्ष मल्लले बताउनुभयो ।
संग्रहालयको पुरानो भवन २०७२ सालको भुकम्पले क्षती पुराएपछि नयाँ भवन निर्माण गरिएको हो । २०७८ सालको जनगणना अनुसार मकवानपुरमा २३ हजार छ सय ४० चेपाङ समुदाय रहेका छन् । राक्सिराङ चेपाङ बाहुल्य रहेको स्थानीय तह हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*