राजदुतको सिफारिस समावेशी नभएको भन्दै परराष्ट्रमन्त्री देउवाले माफी मागिन्
१८ भाद्र, काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजदुत सिफारिस समावेशी नभएकोमा माफी माग्नुभएको छ ।
मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले राजदुत सिफारिस समावेशी नभएको स्वीकार गर्दै माफी माग्नुभएको हो । राजदुत नियुक्ति जति समावेशी हुनुपर्ने हो, त्यो नभएकोमा आफूले माफी माग्न चाहेको परराष्ट्रमन्त्री देउवाको भनाई थियो ।
उहाँले एउटा राजदुत पद खाली भएको र त्यसमा मधेशी समुदायलाई प्रतिनिधित्व गराउने विषयमा आफूले प्रयास गरिरहेको पनि बताउनु भयो । सरकारले दलित र मुस्लिम समुदायलाई राजदुतमा सिफारिस गर्न चाहे पनि त्यसका लागि प्रश्तावित उम्मेदवारको रुपमा कोहीले पनि दाबी नगरेको पनि परराष्ट्रमन्त्री देउवाले संसदीय समितिलाई जानकारी दिनुभयो ।
परराष्ट्रमन्त्री राणाले मुलुकको सर्वोपरी हितलाई ध्यानमा राखी विदेशस्थित कुटनीतिक नियोग तथा नियोग प्रमुखहरुलाई परिचालन गर्ने विषयमा सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो । उहाँले संविधानको मर्म र राजदुत नियुक्तिको सम्बन्धि निर्देशिकालाई मुल आधार बनाई राजदुतहरुको नियुक्तिको लागि थप व्यवस्थित, मर्यादित, पारदर्शी, दक्षतामा आधारित र कार्य सम्पादनमा आधारित बनाउन सरकार अधिकतम प्रयासरत रहेको समेत बताउनु भयो ।
यसैगरी बैठकमा परराष्ट्रमन्त्री देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको तयारी शुरु गर्नुभएको पनि जानकारी गराउनुभयो ।














