राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका सम्बन्धमा छलफल

संवाददाता
१८ चैत्र २०८२, बुधबार १७:३८

१८ चैत्र, हेटौँडा । राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका सम्बन्धमा सरोकारवाला निकायबीच अन्तरक्रिया तथा छलफल गरिएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा बुधबार आयोजित कार्यक्रममा आर्थिक गणना समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अध्यक्षता एवम् मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको प्रमुख अतिथ्यता रहेको थियो । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने आर्थिक गणनाका लागि मकवानपुर जिल्लामा कुल ६८ जना जनशक्ति परिचालन गरिने भएको छ । आर्थिक गणना कार्यालयका रुद्र बोगटीका अनुसार ९ जना सुपरभाइजरसहित ५९ जना गणक खटिनेछन ।
कार्यक्रममा उहाँले आर्थिक गणनाको आवश्यकता, उद्देश्य तथा समेटिने क्षेत्रबारे प्रस्तुतीकरण दिनुभएको थियो । स्थानीय तहअनुसार हेटौंडा उपमहानगरपालिकामा सबैभन्दा बढी ३२ जना गणक परिचालन गरिनेछ । नेपालमा वि.सं २०७५ मा पहिलोपटक सुरु गरिएको आर्थिक गणना यस वर्ष दोस्रोपटक हुन लागेको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अधिकारीले संकलित तथ्यांक पूर्ण रूपमा गोप्य राखिने र कुनै पनि व्यक्तिको विवरण प्रमाणका रूपमा प्रयोग गर्न नपाइने कानुनी व्यवस्था रहेको जानकारी दिँदै निर्धक्क रूपमा सही विवरण उपलब्ध गराउन आग्रह गर्नुभयो । राष्ट्रिय आर्थिक गणनाले देशको वास्तविक आर्थिक अवस्था, उद्योग–व्यवसायको स्थिति, लगानीको प्रवृत्ति तथा रोजगारीको यथार्थ तथ्यांक उपलब्ध गराउने विश्वास व्यक्त गरिएको छ । यसले नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*