राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने
६ असार, हेटौँडा । नेपाल स्पोर्ट सेन्टर (नेकोस) का आयोजनामा हेटौंडामा नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता र नेकोस कप राष्ट्रिय रोलर स्केटिङ प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ ।
प्रतियोगिता असार ७ गते शनिबार देखि ११ गतेसम्म सञ्चालन हुने शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो । महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यू डायमण्ड यूथ स्पोट्र्स क्लब, साथै मधेश, गण्डकी र बागमती प्रदेश लगायत ७ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ । यसै गरी स्केटिङ प्रतियोगितामा भने १२ वर्षमुनिका र १२ वर्षमाथिका महिला तथा पुरुष गरी ४ विधामा करिब १५० खेलाडीहरू सहभागी हुने आयोजकले जनाएको छ ।
भलिबलतर्फ प्रथमलाई ५ लाख, द्वितीयलाई ३ लाख, तृतीयलाई १ लाख र सान्त्वनालाई ५१ हजार प्रदान गरिने नेकोस काठमाडौँका अध्यक्ष अनिल कुमार रिजालले जानकारी दिनुभयो । यस्तै स्केटिङतर्फ प्रथम हुनेलार्ई १० हजार, द्वितीयलाई ५ हजार र तृतीयलाई ३ हजार पुरस्कार प्रदान गरिने छ । दुबै प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ बराबरको खर्च हुने अनुमान आयोजकले गरेकोे छ ।
भलिबल प्रतियोगिता असार ७ गते शनिबार दिउँसो ३ बजे ह्याचौरस्थित भलिबल प्रशिक्षण केन्द्रमा उद्घाटन हुनेछ भने स्केटिङ प्रतियोगिता असार ८ गते आइतबार बिहान ७ बजे हेटौंडा–५, पुष्पलाल रोडस्थित स्केटिङ पार्कमा सञ्चालन हुने जनाएको छ । आयोजकका अनुसार दुबै प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा हुने छ । प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह असार ११ गते हेटौंडाको हुप्राचौरमा आयोजना गरिनेछ ।














