रेबिज बिरुद्धको खोप अभावले बिरामीलाई सास्ती, खोप ब्यबस्थापनमा हेटौँडा अस्पताल प्रशासनको वेवास्ता

बिरामी भन्छन् निजीबाट किन्छौँ, सरकारीमा लगाउँछौँ
मनिल महतो / भावना रिजाल
११ बैशाख २०८१, मंगलवार १७:०३

११ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिका–१० कर्राका नितेश लामा आफ्नो ६ वर्षीय छोरालाई रेविज बिरुद्धको खोप लगाउन मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको हेटौंडा अस्पताल पुगे । रेबिजविरुद्धको खोप सकिएको भन्दै अस्पतालको सूचना पार्टीमा सूचना टाँसिएको देखेपछि उनले निजी स्वास्थ्य संस्थाबाट खोप खरिद गरेर ल्याए र अस्पतालमा खोप लगाए । विद्यालयबाट घर फर्कदा उनको छोरालाई कुकुरले टोकेको थियो ।
मकवानपुरगढी गाउँपालिकाकी नन्दमाया फुयाँलले पनि हेटौँडा अस्पतालबाट रेविजको खोप निशुल्क पाईनन् । उनको ८ जनाको परिवारले रेविज बिरुद्धको खोप लगाईरहेको छ । नन्दमायाले पालेको खसीमा रेविज देखिएपछि उनको परिवारले नियमित खोप लगाईरहेको थियो । रेविजको खोप लगाउन अस्पताल पुग्ने बिरामीले निजी क्लिनीकबाट खोप किन्नुपर्ने बाध्यता झेलिरहेका छन् । अस्पतालबाट निशुल्क पाउनुपर्ने रेविज बिरुद्धको खोप बिरामीले ६ सय ५० रुपैयाँमा निजी क्लिनीकबाट खरिद गर्नुपर्ने बाध्यता झेलिरहेका छन् ।

अस्पतालमा खोप लगाउन पुगेका बिरामी खोप नपाएपछि मंगलबार केही आक्रोसित बने । पहिलो र दोस्रो डोज खोप लगाएर तेस्रो डोज खोप लगाउन पुगेका विरामीलाई अस्पतालले खोप सकिएको जानकारी दिएपछि उनीहरु आक्रोशित बनेका हुन् । समयमा नै जानकारी नगराएको भन्दै विरामीले असन्तुष्टि पोखे । बिरामीको आक्रोशले केहीबेर हेटौंडा अस्पताल परिसर तनावग्रस्त बनेको थियो । चैत २७ गतेदेखि नै अस्पतालमा रेबिज बिरुद्धको खोप सकिएको मेडिकल सुपरिटेन्डेन्ट श्रीधर अर्यालले बताउनुभयो । हेटौँडा अस्पातलमा दैनिक ७० देखि ८० भाइल खोप आवश्यक छ । १ सय ७७ भाइल खोप अस्पताल प्रशासनले खरिद गरेर बिरामीलाई लगाएको मेसु अर्यालले दाबी गर्नुभयो ।


प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले खोप उपलब्ध नगराएपछि अस्पताल प्रशासनले सूचना टाँस गरेर खोप नपाईने जानकारी गराएको छ । निशुल्क पाउनुपर्ने खोप ब्यवस्थापनमा प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र र हेटौँडा अस्पताल प्रशासन गम्भीर नबन्दा बिरामीहरुले समस्या झेल्नुपरेको उनीहरुको गुनासो छ । यता अस्पताल प्रशासनले भने खोप ब्यवस्थापनका लागि प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रमा पत्राचार गरिएको दाबी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*