वन मन्त्री केसीको ३७ बुँदे प्रतिबद्धताः एकीकृत जलाधार व्यवस्थापन र जैविक विविधताको संरक्षण प्राथमिकतामा
१९ भाद्र, हेटौँडा । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरतबहादुर केसीले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।
बिहिबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्री केसीले ३७ बुँदामा प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो । एकीकृत जलाधार व्यवस्थापन र जैविक विविधताको संरक्षणलाई प्राथमिकता दिँदै पारदर्शी, जनमुखी र सम्मानजनक सेवा प्रवाहमार्फत समृद्ध प्रदेश निर्माण गर्न प्रतिबद्धता पत्र सार्वजनिक गरिएको मन्त्री केसीले बताउनुभयो । पत्रकार सम्मेलनमा उहाँले दुर्लभ, लोपोन्मुख र संरक्षित वनस्पत्तिको स्व–स्थानीय र परस्थानीय संरक्षण र व्यवस्थापन गरिने बताउनुभयो । संरक्षित वन क्षेत्रहरुको समुदायमैत्री व्यवस्थापनको लागि संघ र स्थानीय तहसंग समन्वयकारी भुमिका खेल्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री केसीले प्रदेशका सबै जिल्लाहरुमा जिल्ला वन पैदावार आपूर्ति समिति गठन गरी स्वदेशी काठको प्रयोगलाई अनिवार्य गर्ने समेत उल्लेख गर्नुभयो ।
मन्त्री केसीले वन क्षेत्रमा हुने यौनजन्य हिंसा तथा सामाजिक विभेदमा समेत शुन्य सहनशीलताको नीति अवलम्बन गरिने बताउनुभयो । प्रदेश राष्ट्रिय वन ऐन र वातावरण संरक्षण ऐनलाई समयानुकुल संशोधन गरी विधेयक तयार गरिने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँका अनुसार विगतमा सुरु भएको छोरोल्पा संवादलाई निरन्तरता दिइनेछ । तीनै तहका सरकारको पहलमा बाढी, पहिरो, भुकम्प जस्ता प्राकृतिक प्रकोपबाट बच्न पूर्वसुचना प्रणाली जडान गर्ने कामको थालनी गरिने समेत उहाँले बताउनुभयो । मन्त्री केसीले भु तथा जलाधार व्यवस्थापन कार्यमा स्थानीय स्रोतको प्रयोग, कम खर्चिलो प्रविधि र बायो इन्जिनियरिङ प्रणालीलाई प्राथमिकता दिइने समेत उल्लेख गर्नुभयो ।
यसैगरी उहाँको प्रतिबद्धता पत्रमा नेपाल सरकारले घोषणा गरेको कृषिका लागि हानिकारक वन्यजन्तु रातो बाँदर लगायतका वन्यजन्तुहरुको नियन्त्रण र व्यवस्थापनका उपायहरु खोज्न मन्त्रालयस्तरमा कार्यदल गठन गरिने समेत उल्लेख गरिएको छ । मन्त्री केसी श्रावण २० गते बागमती प्रदेशको वन तथा वातावरण मन्त्रीमा नियुक्त हुनुभएको हो ।














