विभिन्न नाममा धेरै संगठनहरु खोलेर उद्योगीहरुको हित हुँदैनः मुख्यमन्त्री लामा
१६ जेठ, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विभिन्न नाममा धेरै संगठनहरु खोलेर उद्योगीहरुको हित नहुने बताउनुभएको छ ।
सम्पूर्ण उद्योगी व्यवसायीहरुको हकहितमा काम गर्ने एउटा मात्र बलियो संगठन हुनुपर्ने उहाँको भनाई छ । उद्योग संघ मकवानपुरको ४६ औं स्थापना दिवस एवम् वार्षिकोत्सवको अवसरमा शुक्रबार हेटौंडामा आयोजित कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री लामाले आफ्ना अधिकार प्राप्त गर्न एक ढिक्का हुन पनि आग्रह गर्नुभयो । उहाँले औद्योगिक क्षेत्रको विकास लागि उद्योगीहरु पनि जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री लामाले प्रतिफल आउने क्षेत्रमा मात्र लगानी गर्नुपर्ने बताउनुभयो । दुग्ध पाउडर प्लान्ट र शीत भण्डारमा सरकारले पर्याप्त लगानी गरेपनि त्यसबाट प्रतिफल आउने नसकेको उहाँको भनाई छ ।
त्यसैगरी बागमती प्रदेशकी उद्योग, वाणिज्य, भुमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले नीति तथा कार्यक्रममा युवाहरुको विदेश पलायनलाई रोक्न स्टार्टअपको अवधारणा ल्याइएको बताउनुभयो । स्थानीय स्तरका कच्चापदार्थमा आधारित रहेर उत्पादन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको समेत उहाँले दाबी गर्नुभयो ।

स्थापना दिवसको अवसरमा संघले प्रकाशन गरेको स्मारिकाको विमोचन समेत गरिएको छ । कार्यक्रममा संघले साना उद्योग तर्फ शुभ डेरी इण्डष्ट्रि प्रा.लि., मझौला उद्योगतर्फ नेपाल पास्ता फुड प्रा.लि.र ठुला उद्योग तर्फ नेपाल इकरात इन्जिनियरिङ कम्पनीलाई सम्मान समेत गरेको छ ।
संघका अध्यक्ष बद्रीनाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष स्वागत राज प्याकुरेल, बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेल, संस्थापक अध्यक्ष ऋषिराम घिमिरे, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।














