विषालु च्याउ खाएको ६ घण्टापछि मात्रै लक्षण देखापर्छः डा.देवकोटा

संवाददाता
२४ श्रावण २०८१, बिहीबार १५:५३

२४ श्रावण, हेटौँडा । मकवानपुुर जिल्लामा जङ्गली च्याउ सम्बन्धि सचेतनामूलक कार्यक्रम गरिएको छ ।
गत आर्थिक वर्षको असार महिनामा मात्रै जंगली च्याउ खाएर ४ जनाको मृत्यु भएपछि जिल्ला स्वास्थ्य कार्यालय मकवानपुले यस सम्बन्धि सचेतना प्रदान गर्न कार्यक्रम चलाएको हो । कार्यालयले वनस्पति अनुसन्धान केन्द्र मकवानपुरसँगको समन्वयमा च्याउ विज्ञ सहितको टोलीले मकवानपुरका राक्सिराङ, कैलाश लगायतका पालिकामा गएर स्थानीयलाई विषालु च्याउको बारेमा जानकारी दिएका हुन् । यसै सन्दभर्मा बिहीबार कार्यालयले सञ्चारकर्मीलाई समेत अभिमुखिकरण गराएको छ । कार्यक्रममा गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानका वैज्ञानिक डा.शिव देवकोटाले विषालु च्याउन चिन्ने तरिका, विषालु च्याउ खाँदा शरिरमा देखापर्ने लक्षण लगायतको बारेमा जानकारी गराउनुभएको थियो । नेपालमा हालसम्म एक हजार २ सय ९२ प्रजातिका च्याउ पत्ता लागेको उहाँले जानकारी दिनुभयो । नेपालमा पाइने च्याउ मध्ये १ सय प्रजातिका च्याउ विषालु भएको उहाँले बताउनुभयो । जङगलमा पाइने अमानिटा प्रजातिको च्याउमा सबैभन्दा बढी शरीरलाई हानि गर्ने तत्व हुने उहाँले बताउनुभयो । विषालु च्याउको छातामा थोप्ला थोप्ला खस्रो गिर्खा भएका, डण्डीमा थैलो जस्तो भएको, झुसको मात्रा धेरै भएको, रङ्गीन च्याउ, भाँच्दा चोप वा दुध जस्तो पद्धार्थ निस्कने, काटेपछि रङ फेरिने च्याउ विषालु हुने उहाँले बताउनुभयो ।


डा. देवकोटाले विभिन्न किसिमका च्याउ सँगै एकै ठाउँमा नपकाउन पनि सुझाव दिनुभयो । विषालु च्याउ खाएको करीब ६ घण्टापछि मात्रै शरीरमा विभिन्न लक्षण देखिने उहाँको भनाई छ । विषालु च्याउ खादा पखाला लाग्ने, जिब्रो सुन्निने, बान्ता आउने, पखाला चल्ने, लगायतका लक्षण देखिन्छन् । लक्षण देखिनासाथ बिरामीलाई जतिसक्दो चाँडो अस्पताल लैजानुपर्ने उहाँले बताउनुभयो । वर्षेनी च्याउ सेवनबाट मृत्यु हुनेको संख्या बढीरहँदा राज्यको तीनै तहको सरकारले यसलाई गम्भिरतापूर्वक लिई सचेतनामूलक अभियान चलाउनुपर्ने वैज्ञानिक देवकोटाको भनाइ छ ।
नेपालका मकवानपुर सहित चितवन, पाल्पा, गुल्मी, अर्घाखाँची, सल्यान दाङ र इलाममा अत्याधिक विषालु च्याउ पाइने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*