व्यक्तिगत स्वार्थ बाझिने भएकोले ३ वर्षदेखि बानियाँ निर्माण सेवाबाट अलग छुः मुख्यमन्त्री बानियाँ

संवाददाता
९ भाद्र २०८२, सोमबार १३:५६

९ भदौ, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफु निर्माण व्यवसायबाट ३ वर्षदेखि अलग भएको बताउनुभएको छ ।
राज्य सञ्चालनको क्रममा व्यक्तिगत स्वार्थ बाझिने भएकोले आफु बानियाँ निर्माण सेवाबाट अलग भएको उहाँले स्पष्ट पार्नुभयो । निर्माण व्यवसायी संघ मकवानपुरले सोमबार प्रदेशका मुख्यमन्त्री सहित मन्त्रीहरुको स्वागतमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री बानियाँले निष्पक्ष ढंगले निर्माण व्यवसायीहरुलाई सहयोग गर्ने समेत आश्वासन दिनुभयो । निर्माण व्यवसायी राष्ट्र निर्माणको मेरुदण्ड भएको उहाँको भनाई छ । निर्माण व्यवसायीहरुको समस्यालाई समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभयो ।
मुख्यमन्त्री बानियाँले निर्माण व्यवसायीहरुलाई कामको खाँचो नहुने समेत बताउनुभयो । उहाँले १० लाख भन्दा माथिका योजनाहरु टेण्डर प्रक्रिया मार्फत गर्ने नीति संसद्बाट पास भइसकेको बताउनुभयो । खानेपानी मन्त्रालयले पनि आफ्ना योजनाहरु सम्पन्न गर्न केही दिनमै टेण्डर आह्वान गर्ने भएकोले तयारी भएर बस्न पनि उहाँले निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । मुख्यमन्त्री बानियाँले विगतमा उपभोक्ता समिति मार्फत काम हुँदा धेरै समस्या सिर्जना भएको बताउनुभयो । प्रदेश सरकार सुशासन र भ्रष्टचारमुक्त बागमती प्रदेश बनाउने अभियानमा रहेको भन्दै उहाँले अबदेखि १० लाख भन्दा माथिका कुनै पनि योजना उपभोक्ता समितिबाट नहुने उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री बानियाँले असहज परिस्थितिमा आफनै पार्टीभित्र सकस गरेर अहिलेको सरकार बनेको बताउनुभयो । आफ्नो नेतृत्वको सरकार जनता प्रति जिम्मेवार भएको समेत उहाँले दाबी गर्नुभयो । मुख्यमन्त्री बानियाँले मागेर र ठगेर खानेलाई छुट नदिने समेत चेतावनी दिनुभयो । उहाँले सार्वजनिक खरिद ऐन संशोधनको प्रक्रियामा रहेको समेत बताउनुभयो ।


त्यसैगरी कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसुदन पौडेलले पेशागत मर्यादा कायम राखेर निर्माण व्यवसायीहरुले काम गर्नुपर्ने बताउनुभयो । समाज र देश निर्माणमा निर्माण व्यवसायीहरुको ठुलो भुमिका रहेको उहाँको भनाई छ । कामको सिलसिलामा कसैले दुःख दिए सिधै मुख्यमन्त्री र मन्त्रीसंग समन्वय गर्न समेत उहाँले आग्रह गर्नुभयो । मन्त्री पौडेलले अहिलेको मन्त्रीपरिषद्लाई सफल बनाउने जिम्मा निर्माण व्यवसायीकै भएको बताउनुभयो । उहाँले वर्तमान सरकार समाजको सबै वर्गको सरकार भएकोले सडकमा बसेर कराउन नपर्ने समेत जिकिर गर्नुभयो ।
निर्माण व्यवसायी संघ मकवानपुरका अध्यष बालगोपाल कँडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा खानेपानी, उर्जा तथा सिचाई मन्त्री कृष्णकुमार तामाङ, सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*