शैक्षिक भवन निर्माणका लागि संघीय सरकारसमक्ष २५ करोड बजेट माग

संवाददाता
२१ चैत्र २०८१, शुक्रबार १६:४३

२२ चैत्र, हेटौँडा । मकवानपुर बहुमुखी क्याम्पसले शैक्षिक भवन निर्माणका लागि संघीय सरकारसमक्ष २५ करोड बजेट विनियोजन माग गर्दै प्रस्ताव पेश गरेको छ ।
क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा मकवानपुर क्षेत्र नं. २ का सांसद् महेश बर्तौला, क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेल, क्याम्पस प्रमुख डा. यमबहादुर सिलवालसहित क्याम्पस सञ्चालक समितिका पदाधिकारीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई र कार्यवाहक प्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई भेटेर योजना प्रस्तुत गरेको छ ।
हाल विद्यार्थी संख्याको वृद्धिसँगै आधुनिक पूर्वाधारको आवश्यकता बढिरहेकाले संघीय सरकारलाई योजना प्रस्ताव गरिएको क्याम्पस प्रमुख डा. यम बहादुर सिलवालले बताउनुभयो । मकवानपुर तथा छिमेकी जिल्लाका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको क्याम्पसमा हाल उपलब्ध भवन तथा संरचना अपुग भएको उहाँले बताउनुभयो । क्याम्पस प्रशासनले रोजगारमुखी, उद्यमशीलता तथा प्राविधिक शिक्षाका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै स्वदेशमा रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ ।
उक्त योजनालाई प्रभावकारी कार्यान्वयन गर्न नयाँ भवन आवश्यक भएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा सहरी विकास मन्त्रालयमार्फत बजेट माग गरिएको हो । आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट कार्यक्रममा उक्त योजना समावेश गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।यस परियोजनाले मकवानपुर बहुमुखी क्याम्पसलाई मात्र नभई नेपाल सरकारको उच्च शिक्षा पूर्वाधार सुदृढीकरण तथा सहरी पूर्वाधार विकास अभियानलाई समेत टेवा पुग्ने विश्वास क्याम्पस प्रशासनले लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*