संसारीदेवी माई मन्दिरको प्राणप्रतिष्ठा एवम् समुद्घाटन
३ फागुन, हेटौँडा । हेटौंडा ६ दिव्यनगर स्थित संसारीदेवी माई मन्दिरको प्राणप्रतिष्ठा एवम् समुद्घाटन भएको छ ।
बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानिंयाले मन्दिरको समुद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्नुहुँदै प्रदेश सांसद् बानिंयाले मन्दिरको थप भौतिक संरचना निर्माणको लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । मन्दिर निर्माणको लागि उद्योग, पर्यटन र सहकारी मन्त्रालयबाट १० लाख र मुर्तिको लागि हेटौंडा उपमहानगरपालिकाबाट २ लाख सहयोग भएको दिव्यनगर टोल विकास समितिका अध्यक्ष तारानाथ ढकालले जानकारी दिनुभयो । त्यसैगरी मन्दिरमा पुर्जा खर्च बापत टोल विकास संस्थाहरुबाट ३८ हजार ५ सय ५५ प्राप्त भएको अध्यक्ष ढकालले बताउनुभयो ।

कार्यक्रममा ६ नं. वडा अध्यक्ष विष्णुबहादुर दाहाल, निवर्तमान वडा अध्यक्ष एवम् कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुन चौलागाई, सचिव भीमसेन महत लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधित्व एवम् स्थानीयहरुको उपस्थिति रहेको थियो ।















