सडक भासिँदा हराएको गाडी खोज्न खानी तथा भूगर्भ विभागसँग समन्वय गरिने

संवाददाता
२१ बैशाख २०८२, आईतवार १३:२०

२१ वैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ गैरीगाउँमा शुक्रबार साँझदेखि हराएको बोलेरो गाडी खोजी कार्यलाई प्रभावकारी बनाउन हेटौंडा उपमहानगरपालिकाले खानी तथा भूगर्भ विभागसँग समन्वय गर्ने निर्णय गरेको छ ।
आइतबार हेटौंडा उपमहानगरपालिकामा बसेको सरोकारवाला निकायबिचको बैठकले घटनास्थल कमजोर संरचनाको भएकाले भूगर्भ विशेषज्ञको प्राविधिक सहयोग लिने निर्णय गरेको हो । घटनास्थल भूगर्भीय हिसाबले असुरक्षित देखिएकाले प्राविधिक सहयोगका लागि विभागलाई पत्राचार गर्ने निर्णय गरिएको उपमहानगर प्रवक्ता सबिन न्यौपानेले बताउनुभयो ।
माछाको दाना लिन हेटौंडा जाँदै गरेको ना ४ च ४८३३ नम्बरको बोलेरो गाडी भित्री कच्चि सडकमा अचानक माटो भासिएर तीन दिन देखि हराइरहेको छ । माछापालनका लागि निर्माण गरिएको पोखरी र पानीको बोरिङ नजिकै भएकाले जमिन कमजोर बनेको कारण माटो भासिएको अनुमान गरिएको छ ।
शनिबार दिनभर बाँस र रड गाडेर गाडी खोज्ने प्रयास गरेपनि गाडीको अवस्था थाहा हुन नसकेको स्थानीयले बताएका छन् । मानव सुरक्षाका दृष्टिले समेत संवेदनशील मानिएको उक्त स्थान वरपर सर्वसाधारणको आवागमन रोक्न नगर प्रहरी परिचालन गरिएको प्रवक्ता न्यौपानेले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*