सभापतिको घरमा भेटिएको रकमबारे सामाजिक सञ्जालको आधारमा धारणा बनाउन मिल्दैनः महामन्त्री शर्मा
११ असोज, हेटौँडा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापतिको घरमा भेटिएको रकमबारे सामाजिक सञ्जालमा आएको भिडियोको आधारमा धारणा बनाउन नहुने बताउनुभएको छ ।
सभापतिको घरमा रकम कहाँ र कसरी आयो भन्ने कुराको जवाफ कि त बुढानीलकण्ठले दिनुपर्ने कि त सरकारले नै अनुसन्धान गर्नुपर्ने उहाँको भनाई छ । जेनजी आन्दोलनको क्रममा क्षति पुगेको नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालय अवलोकन पश्चात् सञ्चारकर्मीसंग कुराकानी गर्नुहुँदै महामन्त्री शर्माले सबै नेताहरुको सम्पत्ति छानबीन गर्नुपर्ने समेत बताउनुभयो ।
उहाँले विगतमा धरै राजनीतिक परिवर्तनहरु कांग्रेसकै नेतृत्वमा भएपनि जेनजी पुस्ताको आन्दोलनले कांग्रेसलाई नै परिवर्तन हुन सन्देश दिएको बताउनुभयो । उहाँले सरकारी संरचना देखि व्यवपारिक प्रतिष्ठानहरुको आगजनी र तोडफोड जेनजीको भावना अनुरुप नभएको बताउनुभयो । महामन्त्री शर्माले आफुहरु शान्तिपूर्ण आन्दोलनमा रहेको र तोडफोड, आगजनी गर्ने कारवाही गरियोस् भन्ने कुरा जेनजी पुस्ताबाटै आउनुपर्ने बताउनुभयो ।
महामन्त्री शर्माले घाइते अवस्थामा रहेको संविधानलाई जोगाउन पनि फागुन २१ मै प्रतिनिधिसभाको निर्वाचन हुनुपर्ने बताउनुभयो । राष्ट्रपति, संविधान, राष्ट्रियसभा, प्रदेश संरचना, स्थानीय पालिकाहरुलाई निर्वाचनकै माध्यमबाट रिफ्रेस गर्न सकिने उहाँको भनाई छ । महामन्त्री शर्माले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने वातावरण बनाउन कांग्रेसले सहयोग गर्ने समेत बताउनुभयो ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सफलता कांग्रेसले खोज्ने उहाँले उल्लेख गर्नुभयो । मन्त्रीपरिषद्मा योग्य व्यक्तिहरु आउँदै गर्दा जेनजी युवाको प्रतिनिधित्व हुन नसकेकोमा महामन्त्री शर्माले असन्तुष्टि व्यक्त गर्नुभयो ।
महामन्त्री शर्माले पार्टीको नियमित महाधिवेशन मंसिर मसान्तभित्र गर्नुपर्ने मत बलियो रहेको बताउनुभयो । नियमित महाधिवेशन हुन नसकेको अवस्थामा केन्द्रिय कमिटीले विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था रहेको समेत उहाँले उल्लेख गर्नुभयो । महामन्त्री शर्माले समयमै उठेका स्वरहरुलाई नसुन्दा ग्रेसफुल ऐक्जिटबाट नेताहरु फोर्सफुल ऐक्जिटमा पुगेको जिकिर गर्नुभयो । उहाँले पार्टी सभापति र कांग्रेसको स्वास्थ्य अवस्था दुबैलाई ठिक बनाउने समेत बताउनुभयो ।
महामन्त्री शर्माले फरक–फरक विचारलाई समेत सम्बोधन हुने गरी केन्द्रिय समितिको बैठक मार्फत साझा धारणा बनाउने बताउनुभयो ।














