सवारी दुर्घटना न्यूनीकरण र शान्ति सुरक्षा मुख्य प्राथमिकताः प्रदेश प्रहरी प्रमुख
२६ जेठ, हेटौँडा । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) अरुण पौडेलले लागू औषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण र शान्ति सुरक्षालाई मुख्य प्राथमिकता दिने बताउनुभएको छ ।
सोमबार भएको सञ्चारकर्मीसँगको परिचयात्मक कार्यक्रममा बोल्दै डिआईजी पौडेलले अपराध नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो । सामान्यदेखि जघन्य अपराधसम्मको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउने उहाँको प्रतिबद्धता थियो । एक महिनाअघि बागमती प्रदेश प्रहरी प्रमुखका रूपमा कार्यभार सम्हाल्नुभएका पौडेलले अपराध रोकथाम गर्न समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो ।
अपराध नियन्त्रण, शान्ति सुरक्षाको प्रत्याभूति र जनगुनासो सम्बोधन गर्दै प्रहरीको कामकारबाहीमा कुनै प्रश्न नउठ्ने गरी प्रभावकारी भूमिका खेल्न मातहतका निकायलाई निर्देशन समेत दिनुभयो । प्रहरीले गल्ति गरे छानविन गरेर सांगठनिक कार्वाही गरिने उहाँले प्रष्ट पार्नुभयो ।
प्रखेदेश प्रहरी प्रमुख पौडेलले प्रदेशमा बढ्दो लागुऔषध कारोबारलाई नियन्त्रण गर्न विशेष योजना बनाएर अभियान सञ्चालन गरिने बताउनुभयो । गैरकानुनी गतिविधिमा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याइने पौडेलले चेतावनी समेत दिनुभयो ।

डिआईजी पौडेलले बढ्दो सवारी दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै दुर्घटना न्यूनीकरणका लागि लाइफलाइन सडकहरूमा विशेष सुरक्षा व्यवस्था मिलाइने बताउनुभयो । हेटौंडाको ट्राफिक व्यवस्थापनमा सुधार गर्न जिल्ला ट्राफिक प्रहरी प्रमुखलाई निर्देशन समेत दिनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, संस्थापक अध्यक्ष प्रताप विष्ट, जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्का, जिल्ला ट्राफिक कार्यालय प्रमुख बच्चुराम फुयाल, पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी लगायत मकवानपुरका सञ्चारकर्मीको उपस्थिति थियो ।
बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गत उपत्यकाका तीन जिल्ला बाहेक १० जिल्लाका तीन सय ५० प्रहरी इकाइ रहेका छन् । साथै १२ वटा लोकमार्ग प्रदेश प्रहरी कार्यालयको सुरक्षा जिम्ेवारीमा रहेका छन् ।














