साउन ३ गते कोरा साइकल हुने
१ श्रावण, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै नगरलाई साइकलसँग जोड्ने उद्देश्यले यही साउन ३ गते हेटौँडामा कोरा साइकल च्यालेन्ज आयोजना हुने भएको छ ।
हेटौँडा राइडर्स क्लबको आयोजनामा ५० किलोमिटर दूरीको कोरा साइकल च्यालेन्ज हुने भएको हो । क्लबले बिहीबार पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिएको हो । हेटौँडा सहरलाई साइकलसँग जोड्नुका साथै तीर्थस्थल र स्थानीय बस्तीलाई परिचित गराउन विगत आठ वर्षदेखि हेटौंडा कोरालाई निरन्तरता दिइएको क्लबका अध्यक्ष विकास ताम्राकारले जानकारी दिनुभयो । हेटौंडामा कोरा साइकल राइड सन् २०१८ देखि सुरु भएको हो ।
कोरा च्यालेन्जमा १२ वर्ष माथिका जो कोही महिला तथा पुरुषले सहभागिता जनाउन पाउने बताइएको छ । यस वर्षको कोरा साइकल च्यालेन्जमा तीन सयभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ । कार्यक्रममा मकवानपुरका साथै चितवन, बारा, पर्सा र काठमाडौँका साइकलयात्रीहरूको पनि सहभागिता रहनेछ ।
हेटौँडाको पशुपति मन्दिरबाट शनिबार बिहान ७ बजे सुरु हुने साइकल च्यालेन्ज फरेष्टि कलेजको जंगल हुँदै भुटनदेवी मन्दिर, टिसिएन रोड, बुद्धचोक, चौकीटोल, जलेश्वर मन्दिर, वनस्खण्डी मन्दिर, मनकामना चोक, सानोपोखरा, रुद्रेश्वर मन्दिर, हेटौंडा रिसोर्ट, क्याम्पा, चौघडा, चुच्चेखोलाबाट शिवम् हुँदै हटिया गौरीटार, रिद्धिसिद्धि सिमेन्ट, रातोमाटे, मास्टर चोकबाट त्रिवेणीधाम हुँदै हेटौंडा सिमेन्ट रोड, मेनरोड भएर बुद्धचोकमा पुगेर समापन हुनेछ ।
साइकल यात्रामा सहभागी हुनका लागि तीन सय रुपैयाँ दर्ता शुल्क तोकिएको क्लबका सदस्य विपीन ताम्राकारले जानकारी दिनुभयो । क्लबले साइकल ¥याली, टुर, राष्ट्रिय स्तरिय साइकल रेस प्रतियोगिता गर्दै आएको छ ।














