सामुदायिक वनमा देखिएका समस्या र तिनको समाधानका विषयमा छलफल

संवाददाता
२८ जेष्ठ २०८२, मंगलवार १९:१८

२७ जेठ, हेटौँडा ÷ थाहा नगरपालिकामा रहेका सामुदायिक वनमा देखिएका समस्या र तिनको समाधानका विषयमा सरोकारवालाहरुबीच वृहत रुपमा छलफल गरिएको छ ।
थाहा नगरपालिकाको आर्थिक सहयोग तथा सामुदायिक वन उपभोक्ता महासंघ थाहाको आयोजनामा सामुदायिक वन सम्बन्धि अभिमुखिकरण कार्यक्रम आयोजना गरि सामुदायिक वनमा देखिएका समस्या बारे छलफल गरि समाधानका उपाय खोजिएको महासंघ थाहाका सचिव भवानी प्रधानले जानकारी दिनुभयो ।
अभिमुखिकरण कार्यक्रममा थाहा नगरपालिकामा रहेका सामुदायिक वन उपभोक्ता समितिबाट करिव ९० जनाले सहभागिता जनाएका थिए। अभिमुखिकरणमा वनका प्रतिनिधिहरुलाई वन व्यवस्थापन, सामुदायिक वनमा देखापरेका समस्या, सामुदायिक वनमा पर्यटन प्रवर्धन, वनसम्वन्धि नीति नियम र कानुनी विषयमा जानकारी गराइएको सामुदायिक वन उपभोक्ता महासंघ थाहाका अध्यक्ष गणेशमान श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा बोल्दै थाहा नगरपालिकाका बन तथा वातावरण समिती संयोजक हिरेन्द्र कुमार रायमाझीले नगरपालिकाले सामुदायिक वन संरक्षण र पानीका मुहान संरक्षणको क्षेत्रका काम गर्दै आएको जानकारी दिनुभयो । उहाँले संघीय सरकार र प्रदेश सरकारको वन सम्बन्धि ऐनमा एकरुपता नहुँदा सामुदायिक वनले उठाएका कतिपय विषयलाई सम्बोधन गर्न स्थानीय तहलाई समस्या भएको बताउनुभयो ।
कार्यक्रममा डिभिजन बन कार्यालय राप्तीका प्रमुख हेम बहादुर थापाले बन संरक्षणमा सबैको दायित्व वरावर रहेकोले जनप्रतिनिधी, स्थानिय समिति कर्मचारी सबैले हातेमालो गरेको खण्डमा वनको आफै संरक्षण हुने बताउनु भयो । स्थानीय महासंघका अध्यक्ष गणेशमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा थाहा नगरपालिका बन तथा वातावरण समिती संयोजक हिरेन्द्र कुमार रायमाझी, सामुदायिक बन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष सादुराम चौलागाईं, जिल्ला कोषाध्यक्ष बलराम अधिकारी,राप्ती डिभिजन बन कार्यालयका प्रमुख हेम बहादुर थापाले मन्तव्य राखेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*