‘साम्बा’ हेटौंडामा नगद सहित सम्मानित
१७ श्रावण, हेटौँडा । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) लाई हेटौंडामा सम्मान गरिएको छ ।
सञ्चारिका समूह मकवानपुरले शनिबार हेटौंडामा आयोजना गरेको देश चिनाउने सम्बासँग हाम्रो चिनजान कार्यक्रममा उहाँलाई सम्मानित गरिएको हो । सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङको सभाध्यक्षता एवम् हटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बाँनियाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक एवम् शिक्षाविद् पुरनबहादुर जोशीले भण्डारीलाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गर्नुभयो ।
सम्मानपछि बोल्दै खेलाडी भण्डारीले आफूले धेरै मेहनत र संघर्षका बाबजुत सफलता हासिल गरेको बताउनुभयो । मोजाको भकुन्डोबाट आफ्नो फुटबल करियर सुरु भएको स्मरण गर्दै अभावै अभावमा हुर्किएर यो स्थानमा आएको बताउनुभयो । कप्तान भण्डारीले मोजाको भकुन्डोले फुटबलमा अगाडि बढ्न प्रेरणा दिएको बताउनुभयो ।
कप्तान भण्डारीले पछिल्लो समय खेलकुदलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको उल्लेख गर्नुभयो । नयाँ पुस्तालाई खेल्नका लागि सामग्रीको अभाव नरहेको र स्थानीय सरकारले पनि खेलप्रति सकारात्मक धारणा राखेको उहाँको भनाई थियो । फुटबलको माध्यमबाट समाजमा केही परिवर्तन गर्नुपर्छ भन्ने मान्यतामा नेपाली महिला फुटबल टिम रहेको उहाँले बताउनुभयो ।

सबै नेपाली महिलाको प्रतिनिधित्व गर्दै नेपालको नाम चिनाउनका लागि आफू सदैव अग्रसर रहने उहाँले प्रतिबद्धता जनाउनुभयो । कप्तान भण्डारीले खेलसँगै शिक्षाको पनि उत्तिकै महत्व रहेको धारणा राख्नुभयो ।
हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले हेटौंडा उपमहानगरपालिका खेल क्षेत्रको विकासका लागि सधैँ सकारात्मक रहेको बताउनुभयो । उपमहानगरपालिकाले अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सञ्चालनका लागि चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेको समेत जानकारी दिनुभयो ।
उपमहानगरपालिकाले आयोजना गर्ने प्रतियोगितामा राष्ट्रिय महिला टोलीका खेलाडीलाई सहभागी हुन उहाँले आग्रह गर्नुभयो । उपप्रमुख बाँनियाले उपमहानगरपालिकाले खेल मैदानलाई प्राथमिकता दिएर ‘एक वडा एक खेल मैदान’ अवधारणामा रहेर धेरै वडामा खेलमैदान बनाएको बताउनुभयो । खेलाडी उत्पादनका लागि विद्यालय तहदेखि नै खेल क्षेत्रलाई प्राथमिकतामा राख्ने गरी उपमहानगर अगाडि उपप्रमुख बाँनियाले बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, शिक्षाविद् पुरनबहादुर जोशी, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, सञ्चारिका समूह मकवानपुरकी संस्थापक अध्यक्ष सरिता दाहाल लगायतले मन्तव्य राखेका थिए । सम्बालाई हेर्नका लागि मकवानपुरका विभिन्न विद्यालयका विद्यार्थी, खेलप्रेमी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।














