सार्वजनिक खरिद ऐन छिटो संशोधन गर्न माग
२७ वैशाख, हेटौँडा । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद ऐन छिटो संशोधन गर्न सरकारसंग माग गर्नुभएको छ ।
सरकारले ऐनलाई सदनमा व्यापक रुपले छलफल गराएर संशोधन गर्नुपर्ने उहाँले बताउनुभयो । निर्माण व्यवसायी संघ मकवानपुरको २५ औं वार्षिक साधारणसभाको अवसरमा शनिबार हेटौंडामा आयोजित कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष सिंहले देशमा निर्माण कार्यलाई चलायमान बनाउने गरी सार्वजनिक खरिद ऐन र त्यससंग सम्बिन्धत ऐनहरुलाई संशोधन गर्नुपर्ने धारणा राख्नुभयो ।
वन ऐन, स्थानीय ऐन लगायत कतिपय ऐनहरुको कारण विकास निर्माणको कार्यमा अवरोध आइरहेको उहाँले बताउनुभयो । अध्यक्ष सिंहले पूर्वाधार मैत्री ऐनहरु नहुँदा विश्वमै सफल भएका निर्माण व्यवसायीहरु नेपालमा असफल हुने गरेको जिकिर गर्नुभयो । अनुदान र ऋणमा आएका आयोजनाहरु समेत समयमै सम्पन्न हुन सक्ने अवस्था नरहेको उहाँको भनाई छ ।

अध्यक्ष सिंहले राजनीतिक रुपले पनि निर्माण व्यवसायीहरु एकजुट हुनुपर्ने बेला आएको बताउनुभयो । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा निर्माण व्यवसायीहरुलाई सम्बोधन गर्ने विषयलाई कार्यान्वयन गर्न एकजुट हुनुपर्ने उहाँको भनाई छ । अध्यक्ष सिंहले महासंघमा विभिन्न राजनीतिक विचारधारा राख्ने भएपनि समग्र निर्माण उद्योगको हितमा काम गर्नुपर्ने उल्लेख गर्नुभयो । आलोचनालाई शक्तिमा परिणत गरेर नेतृत्वले काम गर्नुपर्ने उहाँको भनाई छ ।
संघका मकवानपुर अध्यक्ष बालगोपाल कँडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य भारती पाठक, प्रेमबहादुर पुलामी, महासंघका सल्लाहकार निकोलस पाण्डे, वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा, उपाध्यक्ष रामजी पन्त, महासचिव रोशन दाहाल, महासंघका बागमती प्रदेश अध्यक्ष छत्रबहादुर तामाङ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपाने, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतले मन्तव्य राखेका थिए ।














