सिद्धार्थ ल क्याम्पसको पहिलो क्याम्पस सभा सम्पन्न

संवाददाता
२६ बैशाख २०८२, शुक्रबार १७:२०

२६ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाद्वारा सञ्चालित सिद्धार्थ ल क्याम्पसको पहिलो क्याम्पस सभा शुक्रबार सम्पन्न भएको छ ।
क्याम्पस सञ्चालक समितिकी अध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको अध्यक्षता तथा प्रदेशसभा सदस्य इन्द्र बहादुर बाँनिया प्रमुख अतिथ्यतामा क्याम्पस सभा भएको हो । सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि बाँनियाले जिल्लामा नै स्नातक तहको कानून अध्ययनको आवश्यकता देखेर लामो संघर्षपछि क्याम्पस स्थापना गर्न सफल भएको बताउनुभयो ।
हेटौंडामा बारा, पर्सा, रौतहट, सिन्धुली र काभ्रेपलाञ्चोक लगायतका जिल्लाबाट समेत विद्यार्थी भर्ना हुने सम्भावना रहेको उहाँले बताउनुभयो । उहाँले उपमहानगरलाई वार्षिक १९ जना गरिब, जेहेन्दार र दलित विद्यार्थीलाई निःशुल्क शिक्षाको लागि बजेटको व्यवस्था गर्न आग्रह समेत गर्नुभयो । साथै, मकवानपुरका १० वटै स्थानीय तहले कानून अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध गराएमा क्याम्पसको दिगो सञ्चालन सुनिश्चित हुने समेत उहाँले बताउनुभयो । प्रदेश सभा सदस्य बाँनियाले क्याम्पसको भौतिक पूर्वाधार निर्माणमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।


सभामा अध्यक्ष लामाले क्याम्पस सञ्चालक समितिको तर्फबाट नीति कार्यक्रम तथा आगामी कार्ययोजना प्रस्तूत गर्नुभएको थियो । प्रशासनिक क्षमता अभिवृद्धिको लागि आवश्यकता अनुसार तालिम गोष्ठीको समेत आयोजना गरिने उहाँले बताउनुभयो । आगामी वर्ष विद्यार्थीहरुको आन्तरिक प्रगति अनुगमन गर्न असाइनमेन्ट, प्रस्तुतीकरण, कक्षा सहभागिता, आवधिक परीक्षणहरु, प्रयोगात्मक परीक्षाहरु समावेश गर्ने मुल्याङ्कन प्रणालीको विकास गरिने समेत उहाँले बताउनुभयो । त्यसैगरी क्याम्पसले अलग्गै कम्पाउण्डमा क्याम्पस सञ्चालन गर्ने योजना समेत बनाएको छ । अध्यक्ष लामाले क्याम्पसको पञ्चवर्षीय योजना निर्माण गरी कार्यान्वयन गरिने समेत उल्लेख गर्नुभयो ।


उपमहानगरले छिट्टै हेटौंडा १६ स्थित जनप्रिय क्याम्पसमा बिएस्सी एजि कार्यक्रम सञ्चालनको तयारीमा रहेको उहाँले बताउनुभयो । कार्ययोजनामा शैक्षिक, भौतिक तथा प्रशासनिक शिर्षकमा बुँदाहरू समेटिएका छन् । कार्यक्रममा प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी (छिन्तु), संविधानसभा सदस्य तथा मकवानपुर क्याम्पसका अध्यक्ष अनन्त पौडेल, कैलाश गाउँपालिकाका अध्यक्ष लोक मोक्तान, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतले मन्तव्य व्यक्त राखेका थिए । ६० जनाको कोटा रहेको यस क्याम्पसमा स्नातक तह प्रथम वर्षमा २९ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*