सुनचाँदी व्यवसायीहरू आन्दोलित, जेठ २९ र ३० गते व्यवसाय बन्द गर्ने
२८ जेठ, हेटौँडा । सरकारले हालै प्रस्तुत गरेको बजेटमा सुनचाँदी र बहुमूल्य पत्थरमा लगाइएको करको विरोधमा सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन् ।
मकवानपुर सुनचाँदी व्यवसायी संघले बुधबार पत्रकार सम्मेलन गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । संघका अध्यक्ष पवन कुमार शाक्यले राज्यकै कारण आफूहरू सडकमा उत्रिन बाध्य भएको बताउनुभयो । करका कारण व्यवसायी मात्र नभई उपभोक्तासमेत प्रत्यक्ष मारमा पर्ने अध्यक्ष शाक्यको भनाई छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुनमा २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि व्यवसायीहरूले त्यसको विरोध गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
यस अघि १० लाख रुपैयाँभन्दा बढी मूल्यका सुनका गहनामा मात्र २ प्रतिशत विलासिता कर लाग्दै आएको थियो । साथै व्यवसायीहरूले सुनको भन्सार ६ प्रतिशत कायम हुनुपर्ने माग समेत गरेका छन् । १५, २० वर्ष देखि माग गर्दै आएको नीति निर्देशिका समेत अवलम्ब ल्याउन समेत व्यवसायीहरुले सरकारसंग आग्रह गरेको छ । व्यवसाय नै धरापमा पर्दैै गएको अवस्थामा सरकारको अव्यवहारिक कर नीतिले सुनचाँदी व्यवसाय र बन्द गर्नुपर्ने अवस्थामा पुगेको अध्यक्ष शाक्यको भनाई छ ।
केन्द्रको कार्यक्रम अनुसार जेठ २९ र ३० गते व्यवसाय बन्द गरेर कालीगढसहित प्रदर्शन गर्ने भएका छन् । जेठ २६ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरमा व्यवसायीहरुले ज्ञापनपत्र बुझाएका थिए । अबको कर प्रणाली अनुसार १ तोलाको गहना बनाउँदा सुनको मूल्य बाहेक ३५ हजार थप लागत बढ्ने अध्यक्ष शाक्यले बताउनुभयो ।
मकवानपुर सुनचाँदी व्यवसायी संघमा हाल २ सय ३० जना व्यवसायी आवद्ध छन् । व्यवसायीहरूले माग पुरा नभए आन्दोलनलाई अझ चर्काउने चेतावनी समेत दिएका छन ।














