सुशासनको अनुभुति दिलाउने गरी प्रदेश सरकारले काम गरिरहेको छः मुख्यमन्त्री लामा

संवाददाता
६ जेष्ठ २०८२, सोमबार १८:०६

५ जेठ, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले जनतालाई सुशासनको अनुभुति दिलाउने गरी प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ ।
सोमबार देखि सुरु भएको बागमती प्रदेशसभाको बजेटको अधिवेशनको पहिलो बैठकमा सम्बोधन गर्नुहुँदै उहाँले सुशासनको विधि ल्याउन प्रदेश सरकारले स्थानीय तह लगायत विभिन्न निकायहरुसंग पनि छलफल गरिरहेको बताउनुभयो । मुख्यमन्त्री लामाले सुशासनको विधिलाई स्थापित गर्न प्रदेश सरकारको मन्त्रालय र त्यसअन्तर्गत रहेका कार्यालयहरुमा भएका कर्मचारीको व्यवस्थित रेकर्ड राख्नुपर्ने बताउनुभयो ।
सरकारले स्वास्थ्य संस्थाको दर्ता नवीकरण लगायतका कार्य अनलाइनबाटै हुने गरी सिस्टम बनाएको उहाँको भनाई छ । मुख्यमन्त्री लामाले यातायात क्षेत्र आम्दानीको स्रोत भएकोले त्यसलाई सुधार गरेर अघि बढ्ने बताउनुभयो । मुख्यमन्त्री लामाले ‘हरियो वन नेपालको धन’ नारामै मात्र सीमित भएको बताउनुभयो ।


बैठकमा सम्बोधन गर्नुहुँदै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को नेता शालिकराम जम्कट्टेलले सरकारमा दम्भ देखिएको बताउनुभयो । प्रदेश सरकारका मन्त्रीहरुबीच एकता नै नभएको उहाँको बुझाई छ । मुख्यमन्त्रीको निर्देशनमा मन्त्रीहरु चल्न नसकेको उहाँले बताउनुभयो । दुई ठुला दलहरु मिलेर बनेको सरकारले जनतामा के उत्साह ल्याउन सक्यो भन्दै नेता जम्कट्टेलले प्रश्न समेत गरे । सरकार ढाल्ने प्रतिपक्षीको धर्म नै भएपनि आफुहरु सरकारमा पुग्न मरिहत्ते नगर्ने उहाँले बताउनुभयो ।
यसैगरी नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारको बजेट र कार्यक्रम जनमुखी हुनुपर्ने बताउनुभयो । प्रदेशको जनताको आवश्यकता बुझ्ने गरी सरकारले नीति कार्यक्रम बनाउनुपर्ने उहाँको भनाई छ । बजेट निर्माणको क्रममा विगतमा भएको त्रुटिहरु सिक्दै आगामी बर्षको बजेट बनाउन पनि नेता थपलियाले सरकारलाई आग्रह गर्नुभयो । नेता थपलियाले सरकारको बजेट राजनीतिक रुपमा मात्र आकर्षक नभई आर्थिक रुपमा समेत प्रभावकारी हुनुपर्ने बताउनुभयो ।
बिहान ११ बजेको लागि बोलाइएको प्रदेशसभा बैठक झण्डै २ घण्टा ढिलो गरी दिउँसो १ बजेपछि सुरु भएको थियो । सत्तापक्ष र प्रतिपक्ष दलहरूबिच बजेट तथा संसद्को हिउँदे अधिवेशन बैठकका विषयमा सहमति जुट्न नसक्दा निर्धारित समयभन्दा ढिलो गरी बैठक सुरु भएको हो । प्रदेशसभाको अर्को बैठक मंगलबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*