सेनाको भर्ना प्रक्रियालाई व्यवस्थित बनाउन कार्यशाला सम्पन्न
२२ चैत्र, हेटौँडा । नेपाली सेनामा भर्ना प्रक्रियालाई थप व्यवस्थित, प्रभावकारी तथा समयसापेक्ष बनाउने उद्देश्यले भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले हेटौंडामा एकदिने कार्यशाला (वर्कशप) कार्यक्रम सम्पन्न गरेको छ ।
यसअघि इटहरी, बुटवल र पोखरामा कार्यक्रम सम्पन्न गरिसकेको निर्देशनालयले आइतबार मध्य पृतना हेडक्वार्टर, हेटौंडामा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम मध्य पृतना हेडक्वार्टर हेटौंडाका पृतनापति विष्णु कुमार खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यशालामा नेपाली सेनाको भर्ना छनोट प्रक्रिया, गुणात्मक परीक्षा प्रणाली तथा समग्र भर्ना व्यवस्थापनबारे प्रस्तुतीकरण गरिएको थियो ।
निर्देशनालयका निर्देशक सहायक रथी रोज प्रताप राणाले भर्ना प्रक्रियालाई सरल, सहज र विश्वसनीय बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । त्यसैगरी, खुला पदपूर्ति शाखाका शाखा प्रमुख सेनानी निरज भण्डारीले भर्ना छनोटका विभिन्न चरणबारे जानकारी गराउनुभएको थियो । उहाँले नेपाली सेनामा प्रवेशका लागि आवश्यक मापदण्ड, प्रक्रिया तथा भर्ना प्रणालीलाई प्रभावकारी बनाउन गरिएका नीतिगत व्यवस्थाबारे प्रकाश पार्नुभयो । प्रमुख सेनानी रवि केसीले गुणात्मक परीक्षा सम्बन्धी प्रस्तूतीकरण राख्नुभएको थियो ।
नेपाली सेनाले देशभरका युवालाई लक्षित गर्दै विभिन्न स्थानमा भर्ना केन्द्र निर्धारण गरेको छ । सेनाले खुला प्रतिस्पर्धातर्फ ५५ प्रतिशत र समावेशीतर्फ महिला, आदिवासी जनजाति, मधेसी, दलित तथा पिछडिएका क्षेत्रका लागि ४५ प्रतिशत कोटा छुट्याएको छ । साथै, वीरगति प्राप्त तथा अशक्त सैनिकका सन्तानका लागि ५ प्रतिशत आरक्षण व्यवस्था गरिएको छ । हाल नेपाली सेनाले सैनिक साधारण सेवा, प्राविधिक सेवा, हवाई सेवा, प्राड सेवा तथा अन्य विविध सेवा समूहमा भर्ना खुलाउँदै आएको छ ।
भर्ना छनौट सम्बन्धी सम्पूर्ण निर्णय निर्देशनालयको समन्वयमा लोक सेवा आयोगका अध्यक्ष सदस्य रहनेगरि , रक्षा मन्त्रालयको सचिव, कार्यरथि, प्रधानसेनापतिले तोकेको विशेषज्ञ अधिकृत भर्ना छनौट निर्देशनालयको निर्देशक सहितको पदपूर्ती समितिले गर्ने व्यवस्था रहेको छ । कार्यक्रममा विभिन्न क्याम्पसका विद्यार्थी, प्राध्यापक, सञ्चारकर्मी तथा नेपाली सेनाका विभिन्न पदमा कार्यरत अधिकृतहरूको उपस्थिति रहेको थियो ।














