स्थानीय तहलाई मकवानपुर उद्योग वाणिज्य संघको कृषि प्रवद्र्धन समितिको २१ बुँदे सुझाव

संवाददाता
२४ जेष्ठ २०८२, शुक्रबार १९:०५

२३ जेठ, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको कृषि प्रवद्र्धन समितिले जिल्लामा कृषि क्षेत्रको समग्र विकासका लागि पालिका स्तरीय योजना तर्जुमा कार्यक्रम गरेको छ ।
संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको अध्यक्षतामा जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न कार्यक्रममा जिसस प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मकवानपुरका १० वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको उपस्थिति रहेको थियो । कार्यक्रममा कृषि प्रवद्र्धन समितिका सदस्यद्वय विवेक सुवेदी र फेन्चु लामाले २१ बुँदे सुझाव सहितको प्रस्ताव प्रस्तुत गरेका थिए ।
प्रस्तावमा प्रत्येक वडामा शीत भण्डारण केन्द्र र बीउ बैंक निर्माण गर्ने, पशु तथा कृषि प्राविधिक अनिवार्य रूपमा नियुक्त गर्ने, कृषि उत्पादनको न्यूनतम मूल्य तोक्ने, पशुपन्छी र कृषिबालीको बीमा अनिवार्य गर्ने, २० वर्ष निरन्तर कृषिमा संलग्न कृषकलाई पेन्सनको व्यवस्था गर्ने, कृषि उद्यमीलाई खानेपानी तथा विद्युत् जडानमा सहुलियत दिने जस्ता महत्वपूर्ण बुँदाहरू समेटिएका छन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख घलानले मकवानपुरगढी र भीमफेदी गाउँपालिकाले कृषि उपजमा न्यूनतम समर्थन मूल्य तोकेको उदाहरण दिदै सबै स्थानीय तहले आफ्नो उत्पादनको मूल्य निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बागमती गाउँपालिकाका प्रमुख शर्केश घलान, बकैया गाउँपालिकाका प्रमुख धर्मराज लामिछाने, मकवानपुरगढी गाउँपालिकाका प्रमुख दोर्जे लामा स्याङतान, कैलाश गाउँपालिकाका उपप्रमुख बालकुमार मल्ल, बागमती गाउँपालिकाका उपप्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कँडेल लगायत उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*