स्थापना दिवसको अवसरमा किसानलाई बेसारको बीउ वितरण
१३ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ स्थित नौलो बिहानी कृषि सहकारी संस्थाले आफ्नो १६ औँ स्थापना दिवसको अवसरमा शेयर सदस्यलाई बेसारको बीउ वितरण गरेको छ ।
हेटौडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा बादर प्रभावित क्षेत्रका किसानलाई बेसारको बीउ वितरण गरिएको हो । ६ नम्बर वडाका अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यतामा ३५ जना किसानलाई १० केजि देखि ४० केजीसम्म बेसारको बीउ वितरण गरिएको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष दाहालले बादर आतंकका कारण अन्य खेती गर्न कठिन भएको जग्गामा बेसार खेती प्रवद्र्धन गर्नका लागि उपमहानगरले सहयोग पु¥याएको बताउनुभयो । अध्यक्ष दाहालले टनेल खेती र बीउबिजन प्रवद्र्धनमा वडाले विशेष योजना बनाएर कार्य गर्दै आइरहेको समेत बताउनुभयो ।
आगामी वर्ष फिर्ता गर्ने गरि जग्गाको क्षेत्रफल र मागको आधारमा बीउ वितरण गरिएको संस्थाका अध्यक्ष विष्णु ढुंगानाले बताउनुभयो । यसैगरी, संस्थाले तेल मिल सञ्चालनको तयारी समेत गरिरहेको उहाँले बताउनुभयो ।
नौलो बिहानी कृषि सहकारीमा चार सय २१ शेयर सदस्य आबद्ध रहेका छन् । बादर आतंकका कारण अन्य बालीहरू सखाप पारिँदै आएको अवस्थामा बेसारको बीउ पाउँदा किसानहरु खुशी भएका छन् । कार्यक्रममा हेटौंडा उपमहानगरकी कृषि प्राविधिक बिन्दु पोख्रेल, वडा सदस्यहरु, वडा स्थित विभिन्न सहकारी संस्थाका अध्यक्ष एवम् प्रतिनिधि, सञ्चारकर्मी र कृषकहरुको उपस्थिति रहेको थियो ।














