हेटौँडामा जेन–जीको शान्तिपूर्ण प्रदर्शन

संवाददाता
२३ भाद्र २०८२, सोमबार १८:०८

२३ भाद्र, हेटौँडा । भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा सोमबार हेटौंडामा पनि २८ वर्ष मुनिका जेन–जी युवाहरूको समूहले प्रदर्शन गरेका छन् ।
स्वतःस्फूर्त रुपमा सडकमा उत्रिएका युवाहरूको प्रदर्शन मकवानपुरमा शान्तिपूर्ण रह्यो । हेटौंडा उपमहानगरपालिका कार्यालयबाट सुरु भएको विरोध ¥याली सानोपोखरा, बुद्धचोक हुँदै बागमती प्रदेश सभा भवन परिसरसम्म पुगेको थियो । प्रदेश सभा भवन परिसरमा कोणसभामा परिणत भएको उक्त ¥यालीमा युवाहरूले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार खुला र हामी बोल्न चाहन्छौं, सरकारले सुन जस्ता नारा लगाएका थिए ।
प्रदर्शनकारीहरूले भ्रष्टाचार अन्त्य, करको रकमको सही उपयोग, स्वदेशमै रोजगारी सिर्जना हुनुपर्ने, र सामाजिक सञ्जालमा लगाइएका प्रतिबन्धविरुद्ध जोडदार आवाज उठाएका थिए । युवा प्रदर्शनलाई लक्षित गरी हेटौंडाको सुरक्षा व्यवस्था कडा बनाइएको थियोे । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले प्रदर्शन शान्तिपूर्ण रहेको र कुनै अप्रिय घटना नभएको जानकारी दिनुभयो । हेटौंडा उपमहानगरपालिका केन्द्रित यस प्रदर्शनमा एक हजारभन्दा बढी युवाहरूको सहभागिता रहेको थियो ।
प्रदर्शनका क्रममा, युवाहरूले हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामासँग भेटघाट गरेका थिए । उनीहरूले तीनै तहका सरकारले गरिब जनताका लागि प्रभावकारी कार्य नगरेको र नेताका छोराछोरीहरूको आलिसान जीवनशैलीप्रति कडा विरोध जनाएका थिए । नगर प्रमुख लामाले सोमबार बिहान सामाजिक सञ्जालमा सामग्री राख्दै जेन–जी पुस्ताका मागहरू जायज रहेको बताउनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*