हेटौँडामा पहिलो पटक इ स्पोट्र्स हुने
७ जेठ, हेटौँडा । हेटौँडामा पहिलो पटक इ स्पोट्र्स हुने भएको छ ।
नेशनल गोल्ड टेलिभिजनको आयोजनामा बिहिबारदेखि औपचारिक रुपमा नेपालकै ठूलोमध्ये एक मानिने ईस्पोट्र्स नेसनल गोल्डकप सिजन–१ सुरु हुने भएको हो । आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर एक हजार सहभागी निश्चित भइसकेको जानकारी गराएको छ । इ–स्पोट्र्स अन्तर्गत फ्रि फायर प्रतियोगिता हुने कार्यक्रम संयोजक उत्सर्ग चौलागाईले जानकारी दिनुभयो ।
प्रारम्भिक चरणका खेलहरु अनलाइनमार्फत नै हुने र क्वार्टरफाइनल चरणदेखिका खेल भौतिकरुपमा उपस्थिति भएर हेटौँडा–१ स्थित हिमालयन दरबार पार्टी प्यालेसमा हुनेछ । हेटौडा स्कुल अफ म्यानेजमेन्टको मुख्य प्रायोजन र बागमती प्रदेश खेलकुद विकास परिषदको सहकार्यमा आयोजना हुन लागेको प्रतियोगिताको फाइनल खेल जेष्ठ १७ गते हुनेछ ।
प्रतियोगितामा देशभरिबाट १६ वर्ष उमेर पुरा गरेका युवाहरूले अनलाइन गुगल फर्म मार्फत निशुल्क दर्ता गरेका छन् । जेष्ठ ६ गतेसम्म खुल्ला गरिएको दर्तामा एक हजार वटा टोलीको सहभागिता रहेको छ । प्रत्येक टोलीमा एकजना ब्याकअप खेलाडीसहित ५ जना खेलाडीको सहभागिता रहको छ । प्रतियोगितामा एक पटकमा १२ टोलीका ४८ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।
१ लाख रुपैयाँ पुरस्कार राशि रहेको यस प्रतियोगिता नेपालकै ठूला ई–स्पोट्र्स प्रतियोगितामध्ये एक हुने आयोजकको दाबी छ । मकवानपुर जिल्लामा यति ठूलो पुरस्कार राशिसहितको ई–स्पोट्र्स प्रतियोगिता पहिलोपटक आयोजना हुन लागेको हो । विशेषतः युवा पुस्तामा अत्याधिक लोकप्रिय रहेको खेल फ्री फायरलाई आधार बनाएर यो प्रतियोगिता आयोजना गरिएको हो ।
टेलिभिजनका अध्यक्ष उज्जवल चौलागाईले अहिलेको सूचना प्रविधिमा आधारित युवापुस्ता माझ लोकप्रिय खेल पहिलो पटक आयोजना गर्न लागिएको बताउनुभयो । प्रतियोगितालार्ई हेटौडा सिटी कलेज, जे एन्ड बी वारिष्ठा एकेडेमी, होटल वासुकला, होटल सुर्यान्स, ई स्पोर्ट कन्सल्टेन्सीले सह प्रायोजन गरेका छन् ।














