हेटौँडा उपमहानगरले ल्यायो २ अर्ब ९० करोडको बजेट

संवाददाता
१० असार २०८२, मंगलवार १७:००

१० असार, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि बजेटको आकार बढाएको छ ।
मंगलबार बसेको उपमहानगरपालिकाको १७ औं नगरसभा बैठकमा नगर उपप्रमुख राजेश बानिंयाले २ अर्ब ९० करोड ३ लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ । उपप्रमुख बानिंयाले चालु आर्थिक वर्षको बजेटमा १९ प्रतिशत वृद्धि गरी बजेट प्रस्तुत गर्नुभएको हो । हेटौँडाले चालु आर्थिक वर्षका लागि २ अर्ब ४३ करोड ८० लाख रुपैयाँ बजेट सार्वजनिक गरेको थियो ।
बजेटको खर्च व्यहोर्ने स्रोततर्फ संघीय सरकारबाट प्राप्त हुने अनुदान १ अर्ब १९ करोड , आन्तरिक स्रोतबाट ६२ करोड ७६ लाख, राजस्व बाँडफाँडबाट ९२ करोड ७० लाख, प्रदेश सरकारबाट विभिन्न अनुदानबाट प्राप्त हुने ११ करोड रहेको उपप्रमुख बानिंयाले बताउनुभयो । उपमहानगरको नीति कार्यक्रम र बजेटबाट नगरबासीको आधारभुत आवश्यकता परिपूर्ति गरी जीवनस्तरमा गुणात्मक सुधार हुँदै जाने र स्थानीय लोकतन्त्रको सवलीकरण हुने उहाँको भनाई छ ।
आगामी आर्थिक वर्षको लागि उपमहानगरले हेटौंडा १० मा निर्माणाधीन एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माणको लागि ४ करोड बजेट विनियोजन गरेको छ ।
उज्यालो सहर कार्यक्रम अन्तर्गत स्ट्रिट लाइट जडानको लागि ४० लाख, तामाङ संग्रहालय निर्माणको लागि ४० लाख र नेवा संग्रहालय निर्माणको सुरुवात गर्न २० लाख बजेट विनियोजन गरेको उपप्रमुख बानिंयाले बताउनुभयो ।
त्यसैगरी हेटौंडा अस्पतालमा निर्माणधीन बाल तथा प्रसुति कक्षमा एन.आइ.सि.यु र पि.आई.सि.यु सेवा सञ्चालनको लागि २ करोड बजेट विनियोजन गरिएको छ ।
उपप्रमुख बानिंयाले कार्य सञ्चालन तथा प्रशासनिक खर्च व्यवस्थापनको लागि ५९ करोड ६५ लाख ९० हजार रुपैयाँ, सुशासन तथा संस्थागत विकासतर्फ ३ करोड ८९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*