हेटौंडामा मनाईयो ५३ औं विश्व वातावरण दिवस
२२ जेठ, हेटौँडा । ५३ औं विश्व वातावरण दिवस हेटौंडामा मनाइएको छ । टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा विभिन्न सप्ताहव्यापी कार्यक्रमहरु गरी दिवस मनाईएको हो ।
बिहिबार विश्व वातावरण दिवसको दिन वातावरणीय सचेतना मुलक बृहत ¥याली तथा पुरस्कार वितरण र सम्मान कार्यक्रम सम्पन्न भएको थियो । हेटौंडाका १९ वटै वडाहरुमा रहेका ३ सय ७६
टोल विकास संस्थाहरुले आफ्नै क्षेत्रमा र हेटौंडाको मुख्य बजार वरपरका क्षेत्रका टोल विकास संस्थाहरुले बजार क्षेत्रमा ¥याली समेत निकालेर यो दिवस मनाएका हुन् ।
‘प्लास्टिक प्रदुषण न्युनिकरणः हाम्रो दायित्व’ भन्ने नाराका साथ यस वर्षको विश्व वातावरण दिवस मनाइएको हो । हुप्राचौरबाट सुरु भएको ¥याली शितलमहल चोक, पारिजातपथ, ओम भवन, बुद्ध चोकहुँदै रोयल पार्टी प्यालेसमा गएर औपचारिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले नेपालको हिमालयहरु कालो हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । जलवायु परिवर्तनको कारण तापक्रम बढ्दा हिमालहरु कालो हुँदै गएको उहाँको भनाई छ । मन्त्री सिलवालले तटीय क्षेत्रमा बसोबास गर्नेहरु समेत जलवायु परिवर्तनको चपेटामा परेको जिकिर गर्नुभयो ।
नेपालीहरुले खाँदै नखाएको विष भोग्नुपरेको उहाँको धारणा छ । पृथ्वी सबैको साझा घर भएकोले यसलाई जोगाउन घरको भान्साघरमा प्लास्टिकजन्य वस्तुको प्रयोग नगर्न र गरिहाले पनि न्युन मात्रामा प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

त्यसैगरी बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले मानव समुदायको गतिविधि वातावरणमैत्री हुनुपर्ने बताउनुभयो । उहाँले कर्रा खोलाको फोहारलाई व्यवस्थापन गरी पर्यटकीय स्थल बनाउनपर्ने बताउनुभयो । ८ वर्षअघि सुरु गरेको ट्रिटमेन्ट प्लान्ट छिटो सम्पन्न गर्न पनि उहाँले उपमहानगरपालिकालाई आग्रह गर्नुभयो ।
हेटौंडालाई सुन्दर र व्यवस्थित बनाउने पहिलो दायित्व हेटौंडाबासीको नै भएको उहाँको भनाई छ । हेटौंडाको वातावरणलाई स्वच्छ बनाउन नसक्दा प्रदेश राजधानीको पहिचान नै गुम्न सक्ने भएकोले त्यसतर्फ सचेत रहन समेत उहाँले आग्रह गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले विकसित हुँदै गएको हेटौंडा शहरलाई नमुना शहर बनाउनुपर्ने बताउनुभयो । संविधानमै सहअस्तित्व, समन्वय र सहकार्यको व्यवस्था भएकोले प्रदेश राजधानीलाई व्यवस्थित बनाउन प्रदेश सरकारसंग सहकार्य गर्न उपमहानगर तयार भएको समेत उहाँले बताउनुभयो ।

टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुब प्रसाद अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा नगरको वातावरण संरक्षण तथा सरसफाईमा योगदान पु¥याएको भन्दै ७ जनालाई सम्मान गरिएको थियो । त्यसैगरी सप्ताहव्यापी रुपमा आयोजना भएका विभिन्न कार्यक्रममा उत्कृष्ट हुने प्रतियोगीहरुलाई पुरस्कृत पनि गरिएको थियो ।














