हेटौंडा अस्पतालमा एमआरआई सेवा सुरु हुने
१२ कार्तिक, हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगतको हेटौंडा अस्पतालमा एमआरआई सेवा सुरु हुने भएको छ ।
एमआरआई मेसिन खरीदका लागि बागमती प्रदेश सरकारले १४ करोड रुपैयाँ उपलब्ध गराएको थियो । मकवानपुरमै पहिलो पटक एमआरआई सेवा सुरु हुन लागेको हो । एमआरआई उपकरण जडान कार्य अन्तिम चरणमा पुगेको हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रामचन्द्र सापकोटाले बताउनुभयो । उहाँका अनुसार मंसिरको पहिलो हप्ताबाट अस्पतालमा एमआरआई सेवा सुरु हुनेछ ।

प्रदेश सरकारले उपलब्ध गराएको १ दशमलब ५ टेस्ला एमआरआईबाट आवश्यकता अनुसार दैनिक ५ देखि ७ जनाले सेवा पाउनेछन् । एमआरआई सेवा सञ्चालन गर्न आवश्यक चिकित्सक र जनशक्ति समेत तयारी अवस्थामा राखिएको मेसु सापकोटाले जानकारी दिनुभयो ।

हेटौंडा अस्पतालमा एमआरआई सेवा सुरु भएपछि मकवानपुरसहित मधेस प्रदेशको बारा, पर्सा, रौतहट लगाएतका मानिसहरु लाभान्वित हुने हेटौंडा अस्पतालले जनाएको छ । एमआरआईबाट शरीरको भित्रि भागको अवस्था पत्ता लगाउन मद्दत गर्छ ।














