हेटौंडा अस्पतालमा ५ सय ६७ जनाले भर्ना भई मानसिक उपचार सेवा लिए
२४ असोज, हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालमा स्थापना गरिएको २५ शैयाको मनोचिकित्सा वार्डमा हालसम्म ५ सय ६७ जनाले भर्ना भई उपचार गराएका छन् ।
गतवर्षबाट सञ्चालनमा ल्याइएको वार्डमा २ सय ८१ जना महिला र २ सय ८५ पुरुष गरी कुल ५ सय ६७ जनाले भर्ना भएर मानसिक स्वास्थ्यसम्बन्धी उपचार सेवा लिएका हुन् अस्पतालमा दुई जना मानसिक रोग विशेषज्ञ र एक जना मेडिकल अधिकृतले मनोचिकित्सा वार्डमा सेवा दिइरहेका छन् । आवश्यकतानुसार बिरामीलाई औषधीय उपचारसँगै परामर्श (काउन्सेलिङ) सेवा पनि उपलब्ध गराइने गरिएको छ ।
यस्तै, अस्पतालको ओपीडीमा पनि दैनिक ६० भन्दा बढी मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामी आउने गरेको तथ्यांक छ । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा हेटौंडा अस्पतालका चिकित्सकहरूले मानसिक स्वास्थ्यलाई जीवनशैलीसँग जोडेर सचेत रहन सबैलाई आग्रह गरेका छन् ।
उनीहरूका अनुसार, नियमित व्यायाम, सन्तुलित आहार, पर्याप्त निद्रा, आत्मीय व्यक्तिसँग कुराकानी गर्ने बानी र सामाजिक सम्पर्कमा रहनुले मानसिक स्वास्थ्य सुदृढ बनाउन मद्दत गर्छ । सन् १९९२ देखि प्रत्येक वर्ष अक्टोबर १० का दिनलाई विश्व मानसिक स्वास्थ्य दिवसका रुपमा मनाइँदै आइएको छ ।














