हेटौंडा उपमहानगरपालिका १ नं. वडाको आयोजनामा खैंजेडी भजन तालिम सुरु
१५ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १ को आयोजनामा सोमबारदेखि हेटौंडामा खैंजेडी बाजा तथा भजन तालिम सुरु भएको छ ।
परम्परागत संस्कृतिको जगेर्ना गरौं भन्ने मुख्य उद्देश्य राखेर वडाले खैंजेडी भजन तालिम सुरु गरेको हो । तालिम उद्घाटन गर्दै वडा अध्यक्ष सविन न्यौपानेले खैंजेडी भजन तथा बाजा नेपालको पहिचान भएकोले यसको संरक्षण गर्नुपर्ने बताउनुभयो । खैंजेडी भजन लोप हुँदै गइरहेको अवस्थामा यसको संरक्षण गर्नु सबैको दायित्व भएको उहाँको भनाई छ । अध्यक्ष न्यौंपानेले भौतिक विकासले मात्रै देश समुन्नत नहुने बताउनुभयो ।
तालिमलाई व्यवहारमा उतार्न सके परम्पराको संरक्षणसँगै आयआर्जन पनि बृद्धि हुने उहाँले बताउनुभयो । यसअघि १ नं. वडाले महिलाहरुलाई पञ्जेबाजा प्रशिक्षण दिएको थियो । हाल उक्त स्वर्गद्वारी महिला पञ्चेबाजा समूहले राम्रो आम्दानी गरिरहेको जानकारी दिँदै अध्यक्ष न्यौपानेले खैंजेडी भजन समूहले पनि राम्रो आयआर्जन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
मैनटारस्थित गतिशिल कृषि सहकारी संस्थासंग सम्झौता गरेर तालिम सुरु गरिएको हो । सहकारी संस्थाका रामप्रसाद तिमल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य ईश्वरी रसाइली, प्रशिक्षक बद्रीप्रसाद पुडासैनी लगायतले तालिमको महत्वबारे प्रकाश पारेका थिए । तालिममा २० जना महिला तथा पु्रुष सहभागी छन् । तालिम र एक सेट खैंजेडी बाजा र एक थान हार्मोनियम खरिद गर्न वडा कार्यालयले एक लाख रुपियाँ बजेट विनियोजन गरेको वडाले जनाएको छ ।














