हेटौंडा जनप्रिय क्याम्पसको पहिलो क्याम्पस सभा सम्पन्न

संवाददाता
२१ भाद्र २०८२, शनिबार १६:२३

२१ भाद्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाद्वारा सञ्चालित हेटौंडा १६ चिसापानी स्थित हेटौंडा जनप्रिय क्याम्पसको पहिलो क्याम्पस सभा शनिबार सम्पन्न भएको छ ।
संघीय संसदको पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहको प्रमुख आतिथ्यतामा सभा भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै सभापति सिंहले मकवानपुर जिल्लालाई शैक्षिक हबको रूपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले आफू जनप्रतिनिधिका रूपमा निर्वाचित भएपछि शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएको दाबी गर्नुभयो । उहाँले विद्यालयहरूले केवल श्रमशक्ति मात्र नभई विभिन्न क्षेत्रका लागि गुणस्तरीय जनशक्ति र विज्ञ उत्पादन गर्ने खालको शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले क्याम्पसको समग्र विकासका लागि आवश्यक रकम राज्यको तर्फबाट उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको समेत बताउनुभयो । सभापति सिंहले चुनावको बेला मात्र राजनीति गर्न सबै राजनीतिक दललाई आग्रह गर्नुभयो । राजनीतिक विचारलाई शिक्षा विकासबाट टाढा राख्नुपर्नेमा जोड उहाँको जोड थियो ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष एवम् हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले बिएस्सी एजी (कृषि) कार्यक्रम सञ्चालन गर्ने लक्ष्यका साथ आवश्यक ऐन कार्यविधि निर्माण गरी क्याम्पसको स्थापना गरिएको जानकारी दिनुभयो । हाल जनप्रिय क्याम्पसमा बिएस्सी एजी कार्यक्रमका लागि ४८ सिटमध्ये ४७ जना विद्यार्थीले फाराम भरिसकेको उहाँले बताउनुभयो । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्याम्पसको स्थापना कृषिलाई विशेष प्राथमिकता दिएर गरिएको उहाको भनाई छ । नीति, योजना तथा आगामी कार्यक्रमहरू सार्वजनिक गर्दै नगर प्रमुख लामाले यस क्याम्पसलाई आगामी १० वर्षभित्र नेपालकै उत्कृष्ट क्याम्पसका रुपमा विकास गर्ने लक्ष्यका साथ कार्य अघि बढाउने बताउनुभयो । क्याम्पसले आधुनिक र उद्यमशीलतामा आधारित स्नातकोत्तर तह (एमएस्ी कृषि) कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
क्याम्पसका निमित्त प्रमुख देवचन्द्र मानन्धरले उपमहानगरपालिकाको पहलमा सञ्चालन हुने बिएस्सी एजि कार्यक्रम शैक्षिक उपलब्धी मात्रै नभई सामाजिक र आसर्थक रुपान्तरणको प्रमुख आधार बन्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, नेकपा माओवादी केन्द्रका संयोजक भीम पाख्रिन लगायतकाले मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*