हेटौंडा सिमेन्ट उद्योगलाई निजीकरण गर्ने निर्णयविरुद्ध माओवादी केन्द्रद्वारा सरकारको ध्यानाकर्षण

संवाददाता
२५ बैशाख २०८२, बिहीबार १६:२४

२५ वैशाख, हेटौँडा । नेकपा (माओवादी केन्द्र) मकवानपुरले सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडलाई निजीकरण गर्ने सरकारको निर्णयको विरोध गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विजय गौतमको नेतृत्वको टोलीले बिहीबार प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । पत्रमा वैशाख १५ गते बसेको मन्त्रिपरिषद् बैठकले हेटौंडा सिमेन्टसहित केही सरकारी उद्योगहरूलाई निजीकरण गर्ने निर्णयप्रति गम्भीर पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ । सरकारले यो निर्णय राष्ट्र र जनताको हितमा नभई विचौलियाको हितमा गरेको माओवादी केन्द्रको ठहर छ ।
ध्यानाकर्षण पत्रमा संरचनागत, प्रविधिगत र प्रशासनिक रुपमा आवश्यक सुधारसहित हेटौंडा सिमेन्ट उद्योगको नियमित सञ्चालनको माग गरिएको छ । २०३२ सालमा स्थापना भई २०४४ सालदेखि उत्पादन सुरु गरेको हेटौंडा सिमेन्ट उद्योग हाल चरम व्यवस्थापनको लापरवाही र कमिसनमुखी प्रवृत्तिका कारण जर्जर अवस्थामा पुगेको पत्रमा उल्लेख गरिएको छ । यसअघिको प्रचण्ड नेतृत्वको सरकारले उद्योग सञ्चालनका लागि छलफल सहित योजना अघि बढाइएकोमा त्यसलाई टेकओभर गरि सरकार विचौलियाको सेटिङमा जान खोज्नु दुःखद भएको इन्चार्ज गौतमले बताउनुभयो ।
माओवादी केन्द्रले सिमेन्टमा भईरहेको अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्न र लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको थयाशीघ्र पहल गर्न समेत सरकार समक्ष माग गरेकोे छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जतिसक्दो चाँडो ज्ञापनपत्रलाई प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । ध्यानाकर्षणपत्र बुझाउनु अघि मानसचोकबाट जिल्ला प्रशासन कार्यालयसम्म विरोध ¥याली समेत निकालिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*