हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापन र केही कर्मचारीहरूको कार्यशैलीमाथि कर्मचारी संगठनको प्रश्न
२८ जेठ, हेटौँडा । नेपाल सरकारको स्वामित्वमा सञ्चालित हेटौंडा सिमेन्ट उद्योग लिमिटेडमा चरम बेथिति भएको भन्दै कर्मचारी संगठनहरूले उद्योग व्यवस्थापन र केही कर्मचारीहरूको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।
तीनवटा मजदूर युनियनले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै व्यवस्थापकीय लापरवाही र अनियमितताको छानबिनको माग गरेका हुन् । युनियनहरूले उद्योगका नवौं तहका एक कर्मचारीले उद्योग प्रमुखको कार्यक्षेत्र मिचेर आधिकारिक आदेश बिना मौखिक निर्देशनका भरमा सिमेन्ट बिक्री प्रक्रिया अवरुद्ध गराएको आरोप लगाएका छन् । सिमेन्ट बिक्री उद्योगको प्रमुख आम्दानीको स्रोत भएकोले यसमा अवरोध हुँदा कर्मचारीको भविष्य जोखिममा परेको उनीहरूको भनाइ छ ।
विज्ञप्तिमा उद्योगको बिक्री निर्देशिका विपरीत सिमेन्ट उधारोमा बिक्री गरिएको र करोडौं रुपैयाँ असुल हुन बाँकी रहेको उल्लेख छ । छानबिन समितिको प्रतिवेदन अनुसार ३ करोड ८८ लाख रुपैयाँ असुल गर्न बाँकी रहेकोमा उद्योगले नियतवश १ करोड ४२ लाख मात्र असुल प्रक्रिया अघि बढाएको युनियनहरूको आरोप छ ।
उनीहरूले उद्योगमा प्रयोग हुने कोइला तथा अन्य कच्चा पदार्थ बजार दरभन्दा अत्यधिक मूल्यमा खरिद गरिएकोले सिमेन्टको उत्पादन लागत बढेको दाबी गरेका छन् । त्यस्तै, उद्योगको भैंसे खानीसम्मको रोपवे कवाडीको मूल्यमा बेचेको, बिक्री प्रक्रिया बाहिर रहेका सामग्री र हराएका ट्रान्सफर्मरमा पनि ठेकेदार र व्यवस्थापनको मिलेमतो रहेको आशंका युनियनहरूको छ। युनियन अध्यक्षहरू र सल्लाहकारलाई उद्योग प्रवेशमा रोक लगाइएको घटनालाई गम्भीर अपमानजनक रुपमा लिइएको उनीहरुले बताएका छन् ।
गैरकानुनी गतिविधिमा संलग्न कर्मचारीमाथि तुरुन्त कारबाही गर्न सम्बन्धित निकाय समक्ष माग समेत गरेका छन्। समग्र उद्योग ट्रेड युनियन नेपालका अध्यक्ष कुमार खतिवडा, नेपाल कारखाना श्रमिक संघका अध्यक्ष विशाल नेपाल र अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष नेमा डिमडुङद्वारा जारी विज्ञप्तिमा उद्योगलाई नाफामूलक, पारदर्शी र कर्मचारीमैत्री बनाउन माग राखिएको छ ।














