हेटौंडा १० मा घण्टाघर निर्माण कार्य अन्तिम चरणमा
१८ चैत्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिका–१० बसपार्कमा घण्टाघर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
वडा कार्यालयको लगानीमा निर्माण हुन लागेको उक्त संरचना हेटौंडाको नयाँ पहिचानका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ । साहित्यकार पारिजातको नाममा बन्न लागेको उक्त घन्टाघरको नाम पारिजात स्मृति घन्टाघर रहेको छ । स्थानीय तहको पहलमा सार्वजनिक स्थललाई आकर्षक, व्यवस्थित र सांस्कृतिक रूपमा समृद्ध बनाउने उद्देश्य सहित घण्टाघर निर्माण थालिएको वडा नम्बर–१० का अध्यक्ष फुर्वा दोर्जे लामाले बताउनुभयो ।

हेटौंडाको चिनारी झल्काउने खालको संरचना निर्माण गर्न खोजेका उहाँले बताउनुभयो । घन्टाघर हेटौंडा शहरको पहिचान, मकवानपुरको सान, गौरव र विकासको प्रतीक बन्ने उहाँको विश्वास रहेको छ । बागमती प्रदेशको राजधानी हेटौंडाको मध्यभागमा निर्माण हुने घन्टाघरले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
एक करोड २५ लाख रुपैयाँ लागतमा घण्टाघर निर्माण गर्न लागिएको हो । आगामी मंसिर महिनामा सम्पन्न गर्ने लक्ष्य सहित निर्माण कार्य तीव्र बनाइएको वडा कार्यालयले जनाएको छ ।














