हेटौंडा ५ को वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन
१ वैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ५ को वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन भएको छ ।
मंगलबार भवन उद्घाटन भएसँगै वडा कार्यालय अब आफ्नै भवनमा सञ्चालन हुने भएको छ । हेटौँडा–५ स्थित राईटोलमा रहेको डेढ कठ्ठा सार्वजनिक जग्गामा निर्मित भवन नयाँ वर्षको अवसरमा नगरप्रमुख मिना कुमारी लामाले उद्घाटन गर्नुभएको हो । बागमती प्रदेश सरकार, हेटौँडा उपमहानगरपालिका र वडाको संयुक्त लगानीमा १ करोड ६ लाख रुपैयाँको लागतमा १२ कोठाको भवन निर्माण भएको हो ।
भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले हेटौंडा नगरको परिकल्पना अनुरूपको हेटौंडा निर्माणका लागि पहलहरू भइरहेको बताउनुभयो । उहाँले अहिले बनेको नयाँ सरकारलाई सहयोग गर्दै नगरको समृद्धिका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो । वडा कार्यालय जनताको सेवाको आधारस्तम्भ भएकाले नगरपालिकाले सेवा विस्तारका लागि सबै वडा कार्यालयहरूलाई आवश्यक जिम्मेवारी प्रदान गरिसकेको उहाँले स्पष्ट पार्नुभयो । शिक्षा, स्वास्थ्य, व्यक्तिगत सिफारिसदेखि सरकारी सेवासम्मका काम छिटो, छरितो र प्रभावकारी ढंगले प्रवाह गर्न जनप्रतिनिधि तथा कर्मचारीहरूलाई समर्पित हुन पनि नगर प्रमुख लामाले आग्रह गर्नुभयो ।

त्यस्तै वडा अध्यक्ष सुशील घिमिरेले सबै राजनीतिक दलप्रति सम्मान व्यक्त गर्दै वडा कार्यालयलाई जनताको जगका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयो । साथै वडाका बासिन्दालाई पर्ने हरेक समस्यामा वडाको तर्फबाट आवश्यक साथ र सहयोग उपलब्ध गराइने समेत उहाँले बताउनुभयो । स्थानीय उपभोक्ता समितिद्वारा २०८१ साल माघ महिनादेखि सुरु भएको निर्माण कार्य गत चैत महिनामा सम्पन्न भएको थियो । वडाध्यक्ष घिमिरेको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका अन्य वडाका वडाध्यक्षहरु र विभिन्न सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

हेटौँडा उपमहानगरका १९ वटा वडा मध्ये वडा नम्बर २ र १६ को कार्यालय अहिले भाडाको घरमा सञ्चालन भइरहेको छ । यस्तै, वडा नम्बर ६ को कार्यालय पनि आधा भाडाकै घरमा सञ्चालनमा रहेको छ ।














