हेटौडामा ५ दिने बुट क्याम्प सुरु

संवाददाता
१४ बैशाख २०८२, आईतवार १९:०५

१४ वैशाख, हेटौँडा । उद्यमशीलताको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आइतबारबाट हेटौडामा ५ दिने बुट क्याम्प सुरु भएको छ ।
हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा उद्योग संघ मकवानपुरको आयोजनामा बिजनेस इन्क्युबेशन सेन्टर अन्तर्गत सुरु भएको बुट क्याम्पको बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले नवउद्यमी विकासका लागि प्रदेश सरकारले बीउ पूँजी उपलब्ध गराउने तयारी गरिरहेको जानकारी दिनुभयो । यसका लागि आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा नवउद्यमी कोष निर्माण गर्ने उहाँले बताउनुभयो । मन्त्री तामाङले मदन भण्डारी राजमार्गलाई औद्योगिक करिडोरको रूपमा विकास गर्ने तयारी भएको समेत जानकारी दिनुभयो । हेटौंडा औद्योगिक व्यवस्थापन कार्यालयसँगको समन्वयमा नवउद्यमीहरूलाई उद्योग स्थापनाका लागि सहज रुपमा जग्गा उपलब्ध गराउने उहाँले बताउनुभयो ।
मन्त्री तामाङले स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरूलाई अनुसन्धानका लागि एक लाख रुपैयाँ सहयोग उपलब्ध गराइने र भविष्यमा स्नातक तहका विद्यार्थीहरूलाई समेत समेट्ने योजना रहेको उल्लेख गर्नुभयो । दलित, महिला तथा अपांगता भएका व्यक्तिहरूलाई उद्योग दर्तामा विशेष छुट दिनुका साथै संस्था दर्तालाई एकद्वार प्रणालीमा लैजाने विषयमा पनि प्रदेश सरकार प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित घलानले नयाँ व्यवसाय स्थापना तथा विकासका लागि बुट क्याम्प महत्वपूर्ण हुने धारणा राख्नुभयो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित क्याम्पमा नवउद्यमी तथा उद्यमशिलता भएका विद्यार्थीहरु सहभागि रहेका छन् ।
उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष, पूर्व अध्यक्ष, उद्योग वाणिज्य संघ मकवानपुरका उपाध्यक्ष, मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*