११ बुद्धे घोषणापत्र जारी गर्दै बागमती प्रदेश स्तरीय नागरिक सम्मेलन सम्पन्न
२ असोज, हेटौँडा । ११ बुद्धे घोषणापत्र जारी गर्दै बागमती प्रदेश स्तरीय नागरिक सम्मेलन सम्पन्न भएको छ ।
गैरसरकारी संस्था महासंघ बागमती प्रदेशको आयोजनामा प्रदेशको राजधानी हेटौंडामा भएको सम्मेलनले आधारभूत मौलिक हक कार्यान्वयनलाई प्राथमिकतामा राख्दै ११ बुद्धे घोषणापत्र जारी गरेको हो । नागरिक संघ संस्थाका चूनौति र नागरिक स्वतन्त्रता सम्बन्धि नीति संवाद विषयको छलफलपछि घोषणापत्र जारी गरिएको थियो ।
कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाका नागरिक संघसंस्था तथा गैसस महासंघका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो । गैसस महासंघका केन्द्रिय अध्यक्ष राम प्रसाद सुवेदी र प्रदेश अध्यक्ष कमल कुमार विश्वकर्माले मुख्यमन्त्री बहादुर सिंह लामालाई घोषणापत्र बुझाएका थिए ।

११ बुद्धे घोषणापत्रमा सामाजिक संघ संस्थाहरुलाई व्यवसायिक प्रतिष्ठान सरह हेर्न नहुने, सार्वजनिक भौतिक पूर्वाधार निर्माण गर्दा सबैको लागि पहुँच युक्तता सुनिश्चित हुनुपर्ने, अपाङ्गता भएको व्यक्तिहरुको विद्युतिय पहुँचयुक्तताको व्यवस्था सुनिश्चित गरिनुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, तीन तहका सरकारका एकल तथा साझा अधिकारका सूची कार्यान्वयनका लागि स्पष्ट कानून नबन्दा नागरिक संघ संगठनका अभियानमा समेत प्रत्यक्ष प्रभाव परेको उल्लेख गर्दै स्पष्ट कानुन बनाइ कार्यान्वयनको सुनिश्चितताका लागि माग गरिएको छ । समाज कल्याण परिषद् लगायतका संरचनाको संघीयता अनुसार विकेन्द्रीकरण हुनुपर्ने, बालमैत्री, पोषणमैत्री, किशोर किशोरीमैत्री तथा युवामैत्री कानूनहरु बनाई तत्काल लागु गरिनुपर्ने लगायतका घोषणापत्रमा उल्लेख छ ।














