१२ जना चालकले लागूऔषध सेवन गरी सवारी चलाए

संवाददाता
१२ असार २०८२, बिहीबार १८:३५

१२ असार, हेटौँडा । जिल्ला ट्राफिक कार्यालय मकवानपुरले लागूऔषध दुव्र्यसनी विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गरेको जाँचमा १२ जना चालकले लागूऔषध सेवन गरी सवारी चलाएको पाइएको छ ।
हेटौंडा अस्पतालका डाक्टर र जिल्ला जनस्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा ९१ जना सवारी चालकको पिसाब जाँच गरिएको थियो । जाँच गर्दा १२ जनामा लागूऔषधको किट पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका निरीक्षक मनिर आलम अन्सारीले जानकारी दिनुभयो ।
लागूऔषध सेवन गरेर सवारी चलाउनेहरुमा यात्रुवाहक बस र म्याजिकका २ जना, ट्रकका ४ जना, टिपरका ३ जना, ट्र्याक्टर, मिनी ट्रक र पिकअप भ्यानका एक÷एक जना चालक रहेका छन् । यात्रुवाहक सवारीका चालकले समेत लागूऔषध सेवन गरेर सवारी चलाएको पाइएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयालले बताउनुभयो ।
लागूऔषध सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले यसलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले सचेतनात्मक अभियान थाल्ने बताइएको छ । प्रहरीले नियमित रूपमा मादक पदार्थ सेवनको जाँच गरेपनि लागूऔषध जाँच भने निरन्तरता दिइएको पाइदैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*