१७ नम्बर वडा भाद्र ७ गते बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने
३२ श्रावण, हेटौँडा । हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्य अनुसार उपमहानगरका १९ वटै वडा बालमैत्री घोषणा हुने क्रममा रहेका छन् ।
हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १७ भदौ ७ गते बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा तयारीमा रहेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यस वडाले बालमैत्री वडा घोषणाका लागि आवश्यक ५१ सूचक मध्ये ४८ सूचकमा सतप्रतिशत नतिजा हासिल गरेको १७ नम्बर वडा अध्यक्ष एवम् बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मुल समारोह समिति संयोजक उद्धव सत्यालले बताउनुभयो । बाँकी सूचकमध्य एकमा ९८ प्रतिशत, एकमा ८१ प्रतिशत, एउटामा ८० प्रतिशत नतिजा प्राप्त गरेको छ । बालमैत्री घोषणा पश्चात् यसको दिगोपनाका लागि पञ्चवर्षे रणनीतिक योजना अनुसार कार्य गर्ने उहाँले बताउनुभयो ।
बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणाका लागि गत आर्थिक वर्षमा २५ लाख बजेट विनियोजन गरेको यस वडाले चालू आर्थिक वर्षमा सोही शीर्षकमा २० लाख बजेट विनियोजन गरेको छ । वडा कार्यालयबाट ¥याली सहित कार्यक्रमस्थल नेपालचौर स्थित फुटसल मैदान पुग्ने बताइएको छ । यस वडामा १८ वर्ष मुनिका २ हजार १ सय १० जना बालबालिका रहेका छन् । सामुदायिक र संसाथग गरी ६ वटा विद्यालय रहेको यस वडाका विद्यालय उमेर समूहका सबै बालबालिका विद्यालय भर्ना भएको सुनिश्चित गरिएको वडा कार्यालयले जनाएको छ ।
वडा नम्बर ८ र २ बालमैत्री वडा घोषणा भैसकेका छन् भने भदौ १ गते शनिबार ७ वडा उपमहानगरको तेस्रो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदैछ । दुबै वडाका कार्यक्रमको टिम टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने छ ।














