३ दिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन
२७ वैशाख, हेटौँडा । मकवानपुर बहुमुखी क्याम्पसद्धारा आयोजित दिगो विकासको लक्ष्यको स्थानीयकरणः युवाको क्षमता विकास विषयक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन शनिबार देखि सुरु भएको छ ।
शनिबार प्रदेश राजधानी हेटौंडामा त्रिभुवन विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डा.देवराज अधिकारीले सम्मेलनको उद्घाटन गर्नुभएको हो । तीन दिनसम्म चल्ने सम्मेलनमा जापान, भारत, मलेशिया, थाइल्यान्डका अनुसन्धानकर्ताहरुले कार्यपत्र समेत प्रस्तूत गर्नेछन् । त्यसैगरी कार्यक्रममा देशभरबाट ५७ वटा अनुसन्धान कार्यपत्र समुहगत रुपमा प्रस्तुत हुने छ ।
स्थानीय स्तरमा दिगो विकास लक्ष्यहरूलाई समायोजन गर्ने, युवा विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने र स्थानीय स्तरका दिगो विकास लक्ष्यहरू प्राप्तिमा युवाहरूको भूमिका बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्याम्पस प्रमुख डा. यमबहादुर सिलवालले बताउनुभयो ।
सम्मेलनमा गुणस्तरीय शिक्षासम्बन्धी प्यानल छलफल, अनुसन्धानात्मक जर्नल प्रकाशन र सांस्कृतिक कार्यक्रम समेत आयोजना हुनेछ । आइतबार र सोमबारको दुई दिने कार्यक्रम क्याम्पस परिसरमै हुने छ । यसअघि राष्ट्रिय स्तरको शैक्षिक सम्मेलन गरिसकेको क्याम्पसले युजिसी नेपालको सहयोग तथा केन्द्र, प्रदेश र स्थानीय सरकारहरू एवं स्वदेशी तथा विदेशी विश्वविद्यालयहरूसँगको सहकार्यमा विश्वविद्यालय बन्ने यात्रामा अगाडि बढिरहेको छ । सम्मेलन आगामी सोमबारसम्म जारी रहनेछ ।
सम्मेलनको उदघाटन सत्रमा जिल्ला समन्वय समिति प्रमुख ललित घलान, हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, मकवानपुर बहुमुखि क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्त पौडेल, पूर्व अध्यक्षहरु डोरमणी पौडेल र माइकल रामचन्द्र अर्याल, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको आतिथ्यता थियो ।














